काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो ।
यस्तै, मंसिरमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.१० प्रतिशत घटेर ३.५८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.६८ प्रतिशत ब्याजदर थियो ।मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । जसमध्ये एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर घटाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij