Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

पर्यटन प्रवर्द्धनको रणनीति बनाउन छलफल सुरु

पर्यटन प्रवर्द्धनको रणनीति बनाउन छलफल सुरु

  • काठमाडौंँ  । पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरोकारावालाहरूले नेपालको पाँच वर्षे पर्यटन रणनीति बनाउन  छलफल सुरु गरेका छन् । बिहीबारबाट नेपाल पर्यटन बोर्ड र युएनडीपीले संयुक्त रुपमा सरोकारवालाहरुसँग छलफल सुरु गरेका हुन् । नेपालमा २०१५ देखि पर्यटन रणनीति बन्न नसकेको बताउँदै उनीहरूले यसअघि पनि युएनडीपीसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धन गरिएको र अब पनि पाँच वर्षे रणनीति बनाउने काममा अग्रसर भएको बताए ।

    नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य ऋषि भण्डारीले बोर्डले नेपालको आन्तरिक र वाह्य पर्यटन प्रचार प्रसारका लागि युएनडिपीसँग मिलेर सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटिपी) सञ्चालन गर्दै जनाए । विगत एक वर्षमा सस्टेनेबल प्रोजेक्टबाट के कति कामहरु भए ? कसरी सहकार्य भए ? यसले कुन ठाउँमा के कस्ता गतिविधि सञ्चालन गरेको छ ? भन्नेबारेमा छलफल सुरु गरिएको जनाइएको छ । एसटीपीबाट हाम्रा दुर्गम क्षेत्रका केही ट्रेकिङ ट्रेलहरुका पूर्वाधार विकासबारे पनि छलफल भइरहेको छ ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणि लामिछानेले पर्यटन बोर्डले आगामी दिनमा अपनाउने योजना र नीतिको बारेमा रणनीति बनाउन छलफल गरिएको जनाए ।  छलफलले आगामी दिशा निर्देश गर्ने सरोकारवालाले विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका टुरिजम मार्केटिङ एण्ड प्रमोसन डिपार्टमेण्ट निमित्त निर्देशक रोहिणी खनालले जनाए अनुसार पर्यटक ल्याउन सक्ने विषयहरूमा छलफल भएको छ ।

    नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर श्रद्धा श्रेष्ठले बोर्डले आगामी पाँच वर्षका लागि पर्यटन स्ट्राटेजिक मार्केटिङ योजना बनाइरहेको बताइन् । २०१५ देखि मार्केटिङ योजना बनाउन नसकिएको भएपनि अब सरोकारवालाहरुसँग छलफल गरेर रणनीति बनाउन लागेको बताइन् । बाह्य मात्रै नभइ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि आफूहरुले काम गरिरहेको बताइन् ।

    त्यस्तै नेपाल पर्यटन बोर्ड र युएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाका प्रोजेक्ट म्यानेजर धर्म दवाडीले नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य नेपालको पर्यटनलाई विश्व बजारीकरण गरेको बताए । त्यसलाई नै अझ तीव्रताका साथ अघि बढाइरहेको छ । सहरी  वातावरण व्यवस्थित गर्ने भन्नेबारेमा सरोकारवालाहरुसँग छलफल भइरहेको छ । राष्ट्रिय स्तरका पदमार्गहरुमा सेवा सुविधा बढाउने र स्तरोन्नति गर्नेबारे छलफल भइरहेको छ । अपि, सैपाल, मनास्लु र कञ्चनजंगा ट्रेलको सुधारमा पर्यटन बोर्ड प्रयासरत छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij