Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ८  सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ८  सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ८ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    एनपिएलः ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

    काठमाडौँ । कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज  कर्णाली याक्सविरुद्ध जीत निकालेको छ ।

     

     

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९ दशमलव  दुई ओभरमा ९४ रनमा अलआउट भयो । सुदूरपश्चिमको जीतमा कप्तान ऐरी ब्याटिङ र बलिङ दुवैमा चम्किए । उनले ब्याटिङ गर्दै ३९ रन बनाए भने बलिङतर्फ चार विकेट लिए ।

    सरकारद्वारा विशेष आर्थिक क्षेत्र मापदण्ड खारेज, भाडादर मासिक रु ५ कायम

    काठमाडौँ । नेपाल सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर रु २० बाट घटाएर रु ५ कायम गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले जानकारी दिनुभयो ।

     

     

    बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताउनुभयो ।

    लगानी बोर्डमा १६ अर्ब बराबरका आयोजना पाइपलाइनमा, विदेशी लगानी आकर्षित गर्न वातावरण सुधार गर्दै

    काठमाडौं । लगानी बोर्डमा हाल करिब १६ अर्ब रुपैयाँ बराबरका विभिन्न ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजना पाइपलाइनमा रहेको जनाएको छ। यी परियोजनामा जलविद्युत्, सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा, कृषि–सोलारलगायतका क्षेत्र समेटिएका छन्।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि विदेशी लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न बोर्ड निरन्तर सक्रिय रहेको बताएका छन्। गत आर्थिक वर्षमा बोर्डले २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको र चालु आर्थिक वर्षका लागि ७ खर्ब स्वीकृत गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको उनले जानकारी दिए।

    बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

    मुम्बई  (रासस/एएफपी) ।भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मानिन्थ्यो ।

     

    प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै भन्नुभयो, “धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एउटा युगको अन्त्य भएको छ । उहाँ एक प्रतिष्ठित कलाकार मात्र होइन, हरेक भूमिकामा गहिराइ, आकर्षण र मौलिकता भर्ने अद्वितीय अभिनय प्रतिभाका धनी व्यक्ति हुनुहुन्थ्यो ।” अभिनेता धर्मेन्द्रको स्वास्थ्य पछिल्ला महिनाहरूमा राम्रो थिएन र उपचारका लागि केही समयअघि उहाँलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

    मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

    काठमाडौँ ।  नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकबाट  उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरिएको हो ।

     

    वरिष्ठताका आधारमा रक्षा सचिव भएर काम गरिरहेका अर्याल मुख्य सचिव बनेका हुन् । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा थिए ।

    रसुवागढी नाकास्थित ‘बेलीब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

    रसुवा। नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ । दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तरराष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलीब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ । चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो । खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलीब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्काे जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिको भनाइ छ ।

    लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र निर्माणाधीन जलविद्युत् आयोजना रोक्न परेको रिट खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले  राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिटलाई  खारेज गरिदिएको छ ।मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले  लाङटाङ राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिरहेको ३० मेगावाट क्षमताको लामटाङ खोला जलविद्युत आयोजनाको निर्माण रोक्न माग गर्दै परेको रिट निवेदन खारेज नै गरिदिएको हो ।

     

    टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै यही मंसिर ३ गते खारेज गरेका रिटमा  यस अघि २०७९ जेठ २४ गते सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र नकुल सुवेदीको संयुक्त इजलासले निवेदकका पक्षमा अन्तरिम आदेश दिन मानेको थिएनन् ।मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लामटाङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाएको थियो । सुप्पा तामाङ समेतले २०७९ साल वैशाख २७ गते उक्त आयोजनाको निर्माण कार्य रोकी पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल बीमा प्राधिकरण

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आफूसँग भएको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले विभिन्न वाणिज्य बैँक तथा वित्तीय संस्थामा  सो रकम मुद्दती निक्षेपमा गर्न लागेको हो ।

     

    प्राधिकरणको सो रकमका लागि इच्छुक बैंकहरूलाई सात दिनभित्र आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी सिलबन्दी दरभाउपत्र पेस गर्नुपर्ने छ ।

    शेयर बजार : नेप्से ४७.२२ अंकले बढेर २६४७.२२ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय रूपमा उक्लिएको छ। नेप्से ४७.२२ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ, जुन १.८१ प्रतिशत वृद्धि हो। बजार ३ बजे बन्द हुँदा समग्र सूचक हरित क्षेत्रमा रहेर सकारात्मक व्यापारिक माहोल देखिएको थियो।

    बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

    भलबारी (रुपन्देही)। दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आउनुभएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ । सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्याङ्कर चालकले हैरानी बेहोर्दै आएका छन् ।

    टुक्रे योजनाको बजेट स्थगनले कर्मचारीलाई काम गर्न समस्या

     

    काठमाडौं। अन्तरिम सरकारले टुक्रे योजनाको बजेट स्थगन गर्ने गरेको निर्णयबाट विकास योजनाका कर्मचारीलाई काम गराउन समस्या हुन थालेको छ ।जेन्जी आन्दोलनपछि गठित सरकारले मिव्यिता अपनाउने जनाउँदै बजेटमा समावेश गरिएको टुक्रे आयोजनाहरूको बजेट कटौती गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयले काम गर्न समस्या निम्त्याइएको जनाइएको हो ।

     
    सरकारद्वारा बचत तथा ऋण सहकारीमाथि निगरानी बढाउन  मनी लाउण्डरिङसम्बन्धी कार्यविधि  जारी

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)को विषयमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीमाथि निगरानी बढाएको छ ।सरकारले यस्ता सहकारीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न कार्यविधि जारी गरेको हो । 

     

    सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ मा तोकिएका व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्न भन्दै सरकारले कार्यविधि जारी गरेर कार्यान्वयनमा ल्याएको हो ।

    सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्टसञ्चालनमा

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । आज मिति २०८२ साल मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेलले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ  गरे ।  सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

    तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

    म्याग्दी। म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ । सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माणस्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ । टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिकस्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

    वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन ।

    सुनको मूल्य घट्यो, तोलाको २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईँ मुक्त, ‘अघिल्लो सरकारले आवाज थुन्यो, अहिलेको सरकारले कम्तीमा सुनेको छ’

    काठमाडौँ । सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियानकारी दुर्गा प्रसाईँले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो आवाज दबाउने प्रयास गरे पनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको टिप्पणी गरेका छन्।

     

    अदालत परिसरबाट बाहिरिँदै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतप्रति धन्यवाद व्यक्त गरे। उनले भने,
    “पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो।”

    पुनर्निर्माण कोषमा एलआईसी नेपालबाट १ करोड १ लाख, एफवान ग्रुपबाट ७५ लाख योगदान

    काठमाडौं । सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो रकम बराबरको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।

    आर्थिक वर्ष सकिएको चार महिना बित्दा पनि ४६ कम्पनी मात्रले लाभांश घोषणा, युनिलिभरको १८४२% सबैभन्दा धेरै

    काठमाडौँ । आर्थिक वर्ष सकिएको चार महिना बितिसक्दा पनि नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये मात्र ४६ कम्पनीले लाभांश घोषणा गरेका छन्। त्यस्तै, ५१ कम्पनीले साधारण सभा (AGM) घोषणा गरिसकेका छन् भने ४० कम्पनीले AGM सम्पन्न गरिसकेका छन्। ११ कम्पनीले मिति घोषणा गरे पनि सभा सम्पन्न गर्न बाँकी छ।

     

     
     
     
     
     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij