Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

कांग्रेसमा महाधिवेशन विवाद चुलियो: देउवाकै हस्ताक्षरमा दल दर्ता भएपछि नेताहरू आ–आफ्नै अडानमा

कांग्रेसमा महाधिवेशन विवाद चुलियो: देउवाकै हस्ताक्षरमा दल दर्ता भएपछि नेताहरू आ–आफ्नै अडानमा

  • काठमाडौँ।आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किँदै गएको छ। माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षरसहित दल दर्ता भएपछि पार्टीभित्रको रस्साकस्सी झनै गम्भीर बनेको छ।

    कांग्रेस महामन्त्री गगन थापाले निर्वाचनअघि नै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने स्पष्ट अडान लिएका छन्। उनका अनुसार आयोगमा देउवाकै नाम पठाइनु भनेको आगामी निर्वाचनमा देउवाकै हस्ताक्षरबाट टिकट वितरण गर्ने संकेत हो। थापाले भने, “अब विधानअनुसार समयमै विशेष महाधिवेशन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्याएर आयोगमा पठाइनेछ र पार्टी नयाँ नेतृत्वसहित चुनावमा जान्छ।”

    यता संस्थापन पक्ष भने निर्वाचन नजिकिँदै गरेको परिस्थितिमा महाधिवेशन गर्नु उचित नहुने पक्षमा उभिएको छ। देउवाले गत असोजमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट टाढिन लागेको संदेश दिएका थिए। तर आयोगमा दल दर्ताका लागि पुनः आफ्नै नाम राखेर पठाएपछि उनी सक्रिय राजनीतिमा फर्किन चाहेको संकेत देखिएको नेताहरू बताउछन्। एक पदाधिकारीका शब्दमा, “सभापतिजी अहिले पनि शक्ति गुमाउन चाहन्नन्, उनी अझै सक्रिय भूमिकामै रहन इच्छुक छन्।”

    महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टीभित्रको महाधिवेशन सम्बन्धी दुबै विकल्पबारे नेतृत्वलाई स्पष्ट धारणा राखेका छन्। उनका अनुसार पहिलो विकल्प पुस अन्तिम सातासम्म नियमित महाधिवेशन गर्ने, र आवश्यक परे थप १५ दिन समय लिएर प्रक्रिया पूरा गर्ने हो। दोस्रो विकल्प भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै २०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन तथा २०८३ मंसिरमा नियमित महाधिवेशन गर्ने हो।

    शर्माले सभापति देउवाले २०१४ सालमा सुवर्णशम्शेरले गरेका जस्तै मार्गप्रशस्त गर्ने निर्णय लिए पार्टीले सहज निकास पाउने र सभापतिको भूमिकाले नैतिक उचाइ प्राप्त गर्ने तर्कसमेत अघि सारे।

    यता, आयोगमा देउवाकै नाम पठाइनुले कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग झनै बलियो बनेको छ। महाधिवेशन कहिले हुने भन्नेबारे संस्थापन र असन्तुष्ट समूहबीचको दूरी झनै बढ्दै गएको देखिन्छ। आगामी निर्वाचनको चाप र नेतृत्वको भविष्यबीच कांग्रेस अहिले निर्णायक मोडमा प्रवेश गरेको विश्लेषण गरिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij