Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सोमबारदेखि शुक्रबारसम्म देशको अधिकांश स्थानमा बादल लाग्ने, कतै हल्का हिमपात र वर्षा हुने

सोमबारदेखि शुक्रबारसम्म देशको अधिकांश स्थानमा बादल लाग्ने, कतै हल्का हिमपात र वर्षा हुने

  • काठमाडौं । सोमबारदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा बादलले ढाकिरहने, कतै हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यस्तो हुने मौसम विज्ञहरूले जनाएका हुन् ।
    मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सरिरहने क्रममा रहेकाले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी सार्वजनिक गरेको छ ।
    बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
    सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
    बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जानेछ।

    उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij