Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सिफारिस समितिद्वारा कार्यविधि तयार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सिफारिस समितिद्वारा कार्यविधि तयार

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डको  अध्यक्ष नियुक्ति गर्न कार्यविधि बनेको छ ।सिफारिस समितिले त्यसका लागि कार्यविधि बनाएको हो । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र विज्ञ सदस्य व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको सिफारिस समिति गठन गरेको थियो ।२० पुसमा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड करिब २ महिना यता अध्यक्षविहीन छ ।

    अध्यक्ष रिक्त भएको १५ दिनपछि ४ माघमा सरकारको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । समिति गठन भएको ४० दिनपछि अध्यक्ष सिफारिसका लागि आवश्यक कार्यविधि स्वीकृत गरिएको छ ।बोर्ड अध्यक्षका लागि आवेदन दिन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

    उमेरको विषयमा ३० वर्ष उमेर पूरा भई ६५ वर्ष नकटेको नेपाली नागरिक हुनुपर्नेछ ।अध्यक्षका लागि आवेदन दिने उम्मेदवारले पाँच हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना तयार गरी चार प्रति पेश गर्नु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।प्रतिस्पर्धामा भाग लिन सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र संलग्न गर्नु पर्नेछ ।

    दरखास्त साथमा आवेदक कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफैं वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहको वा बोर्डसँग निजी स्वार्थ नभएको स्वयम् घोषणा विवरण संलग्न गर्नुपर्नेछ ।

    भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको स्वःघोषणा गरेको कागजात उम्मेदवारले नै प्रमाणित गरी पेस गर्नुपर्ने कार्यविधिमा छ ।

    अध्यक्षको मूल्यांकन गर्दा व्यावसायिक कार्ययोजनाका लागि १०० मा ४० अंक, शैक्षिक योग्यताको १२ अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणको १८ अंक र अन्तर्वार्तको ३० अंक रहेको  कार्यविधिमा उल्लेख छ ।कार्यविधिको आधारमा समितिले आवेदन दिएका मध्येबाट ३ जना छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij