Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, फागुन २० आइतबार

  • 960
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २० आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २० आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ  जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं  । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको छ  । यसमा बिक्री प्रबन्धकमा  मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    साताको पहिलो दिने आइतबार नेप्सेमा दोहोरो अंकको गिरावटलाई निरन्तरता , ११. ७८ अंकले ओर्लेर १९६०. ३० बिन्दुमा

    काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकको गिरावटलाई निरन्तरता दिएको छ । आइतबार ११. ७८ अंकले ओर्लेर १९६०. ३० बिन्दुमा अडेको छ । यो केही बेर १९६० भन्दा पनि तल झरेर गएको थियो । 

    आज २ अर्ब  ८ करोड २७ लाख ८६ हजार ८९ रुपैया ८ पैसा बराबरको कारोबार भयो । विभिन्न कम्पनीहरूका गरी ५५ लाख ७४ हजार २ सय ७ कित्ता सेयरको कारोबार भएको छ । कुल कारोबार संख्या ४५ हजार ४ सय ४२ भएको नेप्से दर्शाएको छ । यसअघि गत साताको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंक २८.६८ अंकले घटेर  १९७२. ०९मा झरेको थियो  ।

    ब्रोकर कम्पनीहरूसँग पर्याप्त कोष नहुनुलगायतका कारणले सेयर बजारमा मार्जिन कारोबार असफल बन्दै 

    काठमाडौं । सेयर बजारमा मार्जिन कारोबार असफल हुनुमा ब्रोकर कम्पनीहरूसँग पर्याप्त कोष नहुनु रहेको कतिपयको ठम्याइ रहेको छ । कार्यविधि बनाएर मार्जिन कारोबार सञ्चालनमा रहेको भएपनि यसले अपेक्षित सफलता पार्न नसकेको हो ।

    ब्रोकर कम्पनीबाटै केही रकम सापटीका रूपमा लिएर सेयर खरिद गर्नुलाई मार्जिन कारोबार भनिन्छ । मार्जिन कारोबार गर्न धितोपत्र बोर्डले २०७४ साल कात्तिकमा निर्देशन जारी अनुरुप  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ कार्यान्वयनमा ल्यायो ।यिनै व्यवस्था अनुसार  ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सेवा सञ्चालन गरे पनि हाल कतिपयले यो सफल हुन नसकेको बताउँछन् ।यो सेवा अन्तर्गत मार्जिन कारोबार गर्न सीमा सुविधा दिनेहरू मध्ये कतिपयले कोष पर्याप्त नभएका कारण मार्जिन कारोबार बन्द गर्न थालेका छन् ।

    राष्ट्रिय बिमा प्राधिकरणको  नीति २०८० सार्वजनिक (पूर्ण पाठसहित)

    काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले राष्ट्रिय बिमा नीति २०८० सार्वजनिक गरेको छ । बिमा नीतिमा बिमाको पहुँच विस्तार, बिमामा अनुदान, बिमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बिमाको उपयोगलगायतका विषय समेटिएका छन् । बिमा प्राधिकरणले बिमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो नीति मागर्दशक रहने जनाएको छ ।नीति कार्यान्वयन प्रारम्भ भएको ५ वर्षभित्र यसको सम्रग मूल्यांकन गर्ने कुरा उक्त नीतिमा उल्लेख छ ।हाल नेपालमा १४ वटा जीवन बिमा, १४ वटा निर्जीवन बिमा, २ वटा पुनर्बिमा र ७ वटा लघुबिमा कम्पनी सञ्चालनमा छन् ।

    भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन  निर्देशन

    काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा सेनाका माग सम्बोधन गर्न दुई देशबीच द्विपक्षीय र प्राविधिक समितिमार्फत हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक पहल गर्न निर्देशन दिएको छ ।   

     

    आज बसेको समितिको  बैठकमा सभापति राजकिशोर यादवले गोर्खा सैनिकको माग सम्बोधन गर्ने आगामी मार्च २७ तारिखमा बेलायतको लण्डनमा तय भएको वार्ताको तयारीबारे परराष्ट्र मन्त्रालयसँग जानकारी लिँदै उक्त निर्देशन दिनुभएको हो ।

    कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री

    त्रिशूली । अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उहाँले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट  मुक्त हुनुपर्नेमा जोड दिनुभयो । 

     

    नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

    फलामको कच्चापदार्थ आयातमा लाग्ने करसम्बन्धी विवाद फेरि ब्यूँझियो

    काठमाडौँ । फलाम र स्टील उत्पादक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ ‘बिलेट’ र ‘स्पञ्ज आइरन’को करसम्बन्धी विवाद फेरी ब्यूँझिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस विषयमा सोधखोज थालेसँगै यो विषय फेरी चर्चामा आएको हो ।

     

    आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०७८ मार्फत सरकारले स्पञ्ज र बिलेटको राजस्व दर हेरफेर गरेको थियो । प्रतिस्थापन विधेयकमार्फत ल्याइएका करसम्बन्धी केही व्यवस्थाहरु विवादमा परेपछि संसदीय समितिमा उजुरीसमेत परेको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्रतिस्थापन विधेयकको उक्त व्यवस्था कार्यान्वयन नगर्न सरकारलाई निर्देश दिएको थियो तर उक्त निर्देशन कार्यान्वयन नभएको भन्दै समितिको आजको बैठकले सरकारसँग जवाफ माग गरेको छ ।

    प्रिमनसुन वर्षाः काठमाडौँसहित देशभर वर्षा

    काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो ।
    महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ । प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो । “मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो । आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ ।”

    सार्कलाई गतिमान बनाउन बिमिस्टेकको प्रोत्साहन सही उपाय होला र ?

    काठमाडौं । भारतले  पाकिस्तानलाई एक्ल्याउने नीति लिएकाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको (सार्क) औचित्यमाथि प्रश्न उठिरहेको छ ।
    नियमितरूपमा हुनुपर्ने सार्क शिखर सम्मेलन नभएको एक दशक भइसकेको छ । पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन भारत र पाकिस्तानबीचको दुईपक्षीय शत्रुतापूर्ण सम्बन्धका कारण हुन सकेको छैन् ।भारत पाकिस्तानबीचको सम्बन्धमा तत्काल कुनै सुधार हुने स्थिति देखिँदैन् । हालै मात्र भारतका विदेशमन्त्री एस.जयशंकरले पनि सार्क बारे दिएको टिप्पणीलाई यसलाई पुष्टि गर्छ । भारतमा शुक्रबार आयोजित एक कार्यक्रममा जयशंकरले पाकिस्तानको नाम नलिइकन भने सार्क संगठन संकटमा हुनुको कारण यसका एक सदस्य राष्ट्र लगातार आतंकवादलाई समर्थन गरिरहेको बताए ।

    सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग होः प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताउनुभयो ।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कानुनमन्त्री गुरुङद्वारा समय माग

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन थप समय मागेका छन् ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको  आइतबारको बैठक मन्त्री गुरुङले यस्तो बताएका हुन् । कानुन मन्त्रालय र समिति सचिवालयले प्रतिवेदन तयार पारेर पेश गर्ने गरी सकिएको समितिको आइतबारको बैठकमा सहमति हुन बाँकी विषयमा छलफल भएको थियो । मानवअधिकारको गम्भीर उल्लंघनमा नियतवश स्वेच्छाचारी रुपमा गरिएको व्यक्तिहत्या (आर्बिटरी किलिङ) राख्न दलहरु सहमत देखिएका छन् । सो बैठकमा  मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय र घटी सजायबारे सहमति हुन नसकेको हो । मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति चाहिने व्यवस्था गर्न दलहरु सहमत छन् । तर स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने टुंगिएको छैन ।

    चेम्बर एक्सपो २०२४ फागुन २४देखि २८ गतेसम्म  भृकुटी मण्डपमा आयोजना हुँदै

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि  सुरु हुने भएको छ ।२८ गते सम्म संचालन हुँुदैछ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको चेम्बर एक्स्पो  फागुन २८ गतेसम्म चल्ने चेम्बरले जनाएको  हो ।

    एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  घर–जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहने छन् । 

    चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । 

     

    समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

    महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

    काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ । 

     

    पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहनेछ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमण्ड पोष्ट खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइनेछ ।

     

    यसैगरी खोजखबर कक्षको व्यवस्थापनसहित मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ‘ब्यारिकेड’ जडानलगायत कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने कोषका सदस्य सचिव खत्रीले बताउनुभयो ।

    ‘विकासका लागि साझा एजेण्डा आवश्यक’

    पर्वत। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उहाँले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

    कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा

    बैतडी ।यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार टोली उपकप्तानमा दीपक बोहरा, अन्य सदस्यमा दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशी रहेका छन् । साथै विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका जोशीले बताउनुभयो ।

    क्यानाडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता

    काठमाडौं । मित्रराष्ट्र क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्र्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ।’

    नेपालबाट उडान गर्ने अधिकांश वायुसेवा कम्पनीले भ्याट तिरेका छैनन्  

    काठमाडौं । नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरू मध्ये अधिकांशले सरकारलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर भ्याट तिरेका छैनन् ।४९ वायुसेवा कम्पनीहरू मध्ये २६ कम्पनीले सरकारलाई तिर्नुपर्ने भ्याट नतिरेका हुन् ।हवाई सेवा कम्पनीहरूले टिकटमा यात्रुहरूसँग भ्याट रकम जोडेर लिने गरेको भएपनि सो रकम सरकारलाई नबुझाइएको पाइएको हो ।अन्तरिक राजस्व विभागले जनाएअनुसार २२ वायुसेवा कम्पनीले मंसिरसम्मको भ्याट तिरिसकेका छन् । आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार भ्याट नतिरी उम्किन सकिने अवस्था छैन् । ढिलागरी तिर्दा जरिवानासमेत तिर्नुपर्ने छ ।

    सेफ ज्ञानेन्द्र बञ्जाराद्वारा   सञ्चालित रेस्टुरेन्ट आमा नेप्लिज कुजिनलाई  अवार्ड

    काठमाडौँ — क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine रेस्टुरेन्टले हालसालै “Calgary’s Best New Restaurants 2024-Avenue Calgary अवार्ड प्राप्त गरेको छ ।निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको Aama Nepalese Cuisine, जहाँ
    प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ ।

    जगदुल्ला जलविद्युत् आयोजना :  यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

    काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।

    कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनाँै जलविद्युत् आयोजना पहिचान भएका छन् । निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन ।

     
     
     
     
     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस