Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सुनको अवैध पैठारी प्रकरणमा कारबाहीमा परेका सीआईबीका अधिकारीहरू अदालत जाने तयारी गर्दै 

सुनको अवैध पैठारी प्रकरणमा कारबाहीमा परेका सीआईबीका अधिकारीहरू अदालत जाने तयारी गर्दै 

  • काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०को सिफारिस अनुसार कारबाहीमा परेका प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी (सीआईबी) अधिकारीहरू त्यस विरुद्ध अदालत जाने भएका छन् ।सो आयोगले अनुसन्धानमा संलग्नहरूलाई कारबाही गरेको भएपनि त्यो अनाधिकार सिफारिसको प्रयास भएको भन्दै सीआईबीका अधिकारीहरू अदालत जान लागेका हुन् ।

    अनुसन्धानमा परेका प्रहरी अधिकारीहरूका अनुसार आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न सक्नेसम्मको कार्यादेश थिएन् । आयोगले कार्यादेश नाघेर अनुसन्धानमा सामेलहरूलाई सिफारिस गरेको उनीहरूको दाबी छ । आयोगलाई दिइएको कार्यादेशमा सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने भएमा थप अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्न सक्ने अधिकार दिइएको हो । तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई नै कारबाहीका लागि सिफारिस गर्ने अधिकार नभएको विषयमा कानुन व्यवसायीहरूसँगको छलफल  उनीहरूले गरेका छन् ।

    यसरी अनुसन्धानमा संलग्नहरू उपर कारबाहीको सिफारिस हुने भए कोही अनुसन्धान गर्न संलग्न नै नहुने उनीहरू बताउँछन् । उनीहरूले  अन्यायविरुद्ध कानुनी उपचार खोज्न अबको एक दुई दिनमै अदालत जाने तयारी  गरिरहेका छन् ।आयोगले सुन तस्करी सम्बन्धी अनुसन्धान कार्यमा प्रत्यक्ष संलग्न सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यसहित एसपी सञ्चय थापा र डीएसपीद्वय दुर्गा दाहाल र रुगम बहादुर कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

    सरकार फेरिएपछि गृहमन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री रवि लामिछानेले  आयोगको कारबाही सिफारिस कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देश गरेका थिए । सोही कारबाही अन्तर्गत उनीहरूलाई प्रहरी प्रधानकार्यालय तानिएको थियो ।झन् डिएसपी रुगम बहादुर कुँवर अवैध सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न पनि थिएनन् । तर पनि उनलाई कारबाही सिफारिस गरिएको उनीहरू बताउँछन् ।


    सरकारले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी सदस्य रहने गरी चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । असोज १५ गते गठन गरिएको आयोगलाई तीन महिनाको समय दिइए पनि पटकपटक म्याद थप गरी साढे ५ महिनापछि चैत १ गते गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । त्यसलगत्तै सीआइबी प्रमुखको जिम्मेवारीबाट किरण बज्राचार्यलाई हटाएर त्यो जिम्मेवारी श्यामलाल ज्ञवालीलाई दिएर पठाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij