Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु

  • म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ ।

    सबै नगरवासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिनुभयो । 

    “डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेकोलगायतका ९० किसिमका जानकारी राखिएको छ”, उहाँले भन्नुभयो, “सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौ ।”

    नगर प्रमुख केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्यूरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान सुरुआत गर्नुभयो । पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार नौ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने नगर प्रमुख केसीले बताउनुभयो । 

    उहाँका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका सात हजार दुई सय घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ । ७ र ८ नम्बरबाहेकका वडाका घरमा राखिने डिजिटल नम्बर प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । 

    बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले सेवा सुविधाको दुरुपयोग र दोहोरो सुविधा रोकिने, घरधनीले आफ्नो विवरण आफैँ अद्यावधिक गर्नसक्ने, सुत्केरी, गर्भवती तथा जटिल रोग, बिरामी, विपद्को अवस्थामा तत्काल सहयोग गर्न सकिने गरेर डिजिटल घर नम्बर प्रणालीको विकास गरिएको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij