Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट

  • काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गर्नुभयो । त्यस्तै उहाँंले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गर्नुभयो । सो भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताउनुभएको थियो । विदेशमन्त्री अल्बुसइदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो ।(रासस)

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij