काठमाडौँ । दिपेन्द्र अग्रवालले १६ करोड लिएर फरार भएका छन् ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिप्ला सेक्युरिटिजले यस्तो जनाएको हो । सिप्ला सेक्युरिटिजले सबै धितोपत्र दलाल व्यवसायीहरूको नाममा जारी गरेको पत्रमा भनिए अनुसार दिपेन्द्र अग्रवालबीच लामो समयदेखि चलिआएको हिसाब मिलान सम्बन्धी मतभेद बारेमा केन्द्रीय अनुसन्धान ब्युरोले(सीआईबी) मध्यस्थता गरेर हिसाब मिलान गर्न पहल गरेको हो ।
पत्रमा भनिएको छ ‘ सोही विषयमा निज दिपेन्द्र अग्रवालसँग यस प्रा.लि ले खाताहरु मिलान गरेर हिसाब फरफारक गर्नका लागि मिति २०८१–०६–०४ को दिन दिउँसो करिब २ बजे टोखा स्थित ग्लोबल आई एम ई बैंकको शाखा कार्यालयमा यस प्रा.लि का प्रतिनिधिहरुले सोही बैंकको खाता नं ०७५०१०१००००७३२ का रु एक करोडका जम्मा १६ वटा चेक गरी जम्मा रकम रु १६ करोडका चेकहरु लिई गएका थिए। निज दिपेन्द्र अग्रवालले पनि सोही अनुरुप हिसाब मिलान गर्ने भनेर आफ्नो तर्फबाट पनि यस प्र.लि लाई तिर्नुपर्ने रकमका चेकहरु लिएर आए त्यस उपरान्त यस प्रा.लि का प्रतिनिधिहरुलाई झुक्याएर उहाँ आफै बैंकका शाखा प्रबन्धक समक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको जानकारी गराउदैछौं। ’
सिप्ला सेक्युरिटिजले उक्त विषयमा पुलिस रिपोर्ट समेत गरिसकेको जानकारी गराउँदै यसरी कम्पनीको चेक चोरेर धोखा दिएर भाग्ने निज दिपेन्द्र अग्रवालबाट विगतमा अन्य धेरै धितोपत्र व्यवसायीहरु पनि पिडित भएका घटनाहरु सर्वविदितै रहेको जनाएको छ । यस्ता शेयर लगानीकर्ताबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी निज सँगको हिसाबहरु चुक्ता गर्न सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुसँग सिप्लाले अनुरोध गरेको छ ।

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij