Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

  •  

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ । 

     

    चीनको राजधानी बेइजिङमा आयोजित ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’ लाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताउनुभयो । 

     

    नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै उहाँले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

     

    यातायात पूर्वाधार विकासबाट आमनागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्नेमात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले व्यवस्थित सहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नमा पनि योगदान पुग्ने विचार व्यक्त गर्नुभयो । 

     

    अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराउनुभयो । यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियतसहित यससम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने उहाँको भनाइ छ । 

     

    आजदेखि सुरु भएको ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’को कार्यक्रममा नेपाललगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागिता छ । नेपालकोतर्फबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईलगायत अधिकारीहरू सहभागी हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij