Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो

  •  

    दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेकोे छ ।

     

    सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो । 

     

    नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिनुभयो । “सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन प्रयोग गर्न दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ ।” 

     

    इञ्जिनियर केसीका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । “उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मूल्य हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई  दिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि निकुञ्ज कार्यालयले रुख कटानको आदेश दिन्छ ।” 

     

    उहाँका अनुसार बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार सात सय दुई रुख काटिनेछन्  । “सुक्खा बन्दरगाह भारत सरकारले आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन्छ”, इञ्जिनियर केसीले भन्नुभयो, “अब हामीले छिट्टै यताको प्रक्रिया अगाडि बढाउने र भारतले पनि बोलपत्र आह्वान प्रक्रिया अगाडि बढाउँछ ।” 

     

    बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र कामसक्ने भारतीय पक्षले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । 

     

    सुक्खा बन्दरगाहमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।  

     

    विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । त्यसपछि पटकपटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने यहाँका व्यवसायीहरु बताउँछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij