Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

  •  

    लेखनाथ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । 

     

    पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित समृद्धिको आधारः बाटो र उद्योग–व्यापारसम्बन्धी परिसंवाद कार्यक्रममा उहाँले राज्य र बजारको सम्बन्ध राम्रो हुन सक्योभने अर्थतन्त्र केही वर्षमा नै उकालो लाग्ने तर्क गर्नुभयो । “जलस्रोतको धनी देश नेपालमामा विद्युत्, कृषि, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गर्दै आर्थिक क्रान्ति गर्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “जबसमम हामीले प्राविधिक शिक्षालाई प्रमुख प्राथामिकताको विषय बनाउँदैनौँ तबसम्म नेपालको विकास हुन सक्दैन ।” रोजगारीकै लागि नेपाली युवा विदेश जाने क्रम दिनप्रतिदिन बढ्दो सङ्ख्यामा रहेकाले युवालाई नेपालमा नै रोक्न सरकारले स्वरोजगारमूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

     

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेपालको समृद्धि हुन नसक्नुमा भौगोलिक कारण पनि एक भएको उल्लेख गर्नुहुँै सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउँदै विकासलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । 

     

    गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक अस्थिरता पनि बाधक रहेको र पछिल्लो समय दुई ठूला दल मिलेर त्यसलाई रोक्ने काम भएको बताउनुभयो । उहाँले प्रदेश सरकार सडक सञ्जाल, कृषि उत्पादन र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिँदै अगाडि बढेको उल्लेख गर्नुभयो ।  “भारतीय धार्मिक पर्यटकका लागि मुस्ताङको मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड जाने सडक सहज बनाउनुपर्नेछ । पोखरालाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा विकास गर्न पोखरादेखि त्रिवेणी र पोखरादेखि मुस्ताङको कोरला नाकासम्म सडक निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ”, मन्त्री गुरुङले भन्नुभयो । 

     

    पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आर्थिक समृद्धिका लागि पुँजीको विकास र लगानीको क्षेत्र खोजी गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रम पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij