जलेश्वर ।तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले एक सय भारुको लागि रु एक सय ६६ नेपाली तिर्दै आएका छन् ।
नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा ९कमिशन० तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो ।
महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा अहिले नेपाली ग्राहक चाडबाडको किनमेल गर्न पुगिरहेका अवस्थामा भारतीय व्यापारीले मनपरी ढङ्गले नेपाली पैसामा बट्टा (कमिशन) लिएर मालवस्तु दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले बताउनुभयो । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली रु एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताउनुभयो ।
जलेश्वर–४ भिठ्ठामोडमा कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेकी बन्दना पाण्डेसँग त्यहाँका व्यापारीले नेपाली रु एक हजारको सरदर भारु छ सय मात्र दिएको र त्यतिमा कारोबार गरे गर्नुस्, होइन भन्ने सामान बेच्दैनौ भनेपछि त्यत्तिमै कारोबार गरेर आएको बताउनुभयो ।
त्यस्तै पिपरा गाउँपालिका–७ बाट सुरसण्ड बजारमा सामान किन्न गएका वैद्यनाथ चौधरीले पनि नेपाली रु एक हजारको सरदर भारु छ सयमा कारोबार गरेको बताउनुभयो । एकडारा गाउँपालिका–४ बाट पूजा र प्रसाद सामग्री तथा बालबालिकाका लागि कपडा खरिद गर्न सुरसण्ड बजार पुगेका स्थानीय रामनाथ राय र शिवशङ्कर रायले पनि आफूहरूले त्यहाँ किनमेल गर्दा भारु एक सयको लागि रु एक सय ६६ तिर्नुपरेको बताउनुभयो ।
त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताउनुभयो । नेपालीसँग भारतीय बजारमा व्यापारीले भारु एक सयका लागि रु एक सय ६६ लिएका छन्भने यसका अलावा महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली रु एक सय ६६ लिने गरेका छन् ।
बजारमा भारतीय पैसाको अभाव हुनु र नेपाली ग्राहकले रु छसम्म अतिरिक्त पैसा तिर्नुपरेको छ । सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले रु एक हजार बराबर नेपाली रु एक हजार छ सय दिएमात्र पाउने गरेको र कुनै कुनै ठाउँमा रु सात–आठसम्म पनि बट्टा ९कमिशन० लिने गरेको एक ठूला व्यापारीले बताएका छन् ।
यता नेपाली बजारमा मालवस्तु महँगो र भारतीय बजारमा सस्तो भएको र बट्टा लिएर पनि भारतीय बजार नै ठिक रहेकाले नै महोत्तरीका सीमाक्षेत्रका भारतीय बजारमा नेपाली ग्राहकको भीड लागेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij