Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

शान्तिसुरक्षाप्रति सरकार संवेदनशिल छः गृहमन्त्री लेखक

शान्तिसुरक्षाप्रति सरकार संवेदनशिल छः गृहमन्त्री लेखक

  • रामपुर (पाल्पा) ।  गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उहाँले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले पालिका प्रमुखहरूले उठाउनुभएको माग जायज र जिल्लाका आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै प्राथमिकताका आधारमा क्रमिक रूपमा समस्याको समाधान गर्दै जाने उल्लेख गर्नुभयो । पाल्पाका स्थानीय तहका प्रमुखहरुले गृहमन्त्रीसमक्ष शान्तिसुरक्षाको माग गरेका थिए । पालिकाको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीसम्मका व्यवस्था सुधारका लागि ध्यानाकर्षण गराइएको थियो । रामपुर नगरप्रमुख रमणबहादुर थापाले जनघनत्व बढ्दै जाँदा नगरको शान्तिसुरक्षालाई मजबुत बनाउन प्रहरी दरबन्दी थप गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कालीगण्डकी करिडोर सडकले रामपुरलाई नारायणगढ, बुटवल, काठमाडौँ, पोखरा जस्ता ठूला सहरलाई जोडेकाले शान्तिसुरक्षा व्यवस्थामा नगरमा चुनौती थपिएको उहाँको भनाइ थियो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराई र पहाडलाई जोड्ने सिद्धार्थ राजमार्गको तिनाउमा प्रहरी चौकी स्तरोन्नति, नुवाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गर्नुभयो ।

    रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पनि पालिकामा शान्तिसुरक्षामा सहजता हुने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रहरी चौकी भए पनि दरबन्दी कम रहेकाले स्तरोन्नतिका लागि गृहमन्त्रीलाई अनुरोध गर्नुभयो । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले कागजमा अधिकार उल्लेख भए पनि काम गर्न कठिनाइ रहेकाले यसमा सहजीकरण आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलगायत जिल्लाको शान्तिसुरक्षा, पर्यटकीयस्थलहरु रानीमहल दरबार, अर्गली दरबार, सेन दरबार जस्ता महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र यसको बृहत् विकासका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij