Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

भ्रष्टाचार मुद्दामा जेलमा रहेका मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ

भ्रष्टाचार मुद्दामा जेलमा रहेका मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ

  • क्वालालम्पुर।मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।

    ७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बीचमा ७१ लाख रिंगिट ९झण्डै १६ लाख अमेरिकी डलर० सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो ।

    उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै ‘सफाइ’ को आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ ।

    महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

    सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर उहाँले उक्त सजायविरुद्ध अपिल गरी जमानतमा छुट्नुभएको थियो । 

    उहाँविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेशियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएको थियो।

    रोस्माहको महङ्गा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् ।

    सन् २०१८ को चुनावमा पतिको पराजयपछि उहाँको घरमा प्रहरीले छापा मारेपछि उहाँका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो । 

    उहाँलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिएको थियो र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाइएको थियो ।

    नजिब सार्वभौम सम्पत्ति कोष वनएमडीबीमा भएको ठूलो आर्थिक घोटालासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा छ वर्षको जेल सजाय काटिरहनुभएको छ । उहाँले नजरबन्दमा बाँकी सजाय भुक्तान गर्न अपिल दायर गर्नुभएको छ र जनवरी ६ का लागि सुनुवाइ तय गरिएको छ ।

    बन्द अवस्थामा रहेको सरकारी कम्पनीबाट अर्बौं डलर हिनामिना भएको भनिएको वनएमडीबी प्रकरणले उहाँविरूद्ध संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सिङ्गापुरमा अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij