
काठमाडौँ । पहिलोपटक पोखराबाट काठमाडौंमा न्यारोबडी जहाजको उडान पूरा भएको छ । सिचुवान एयरको एयरबस ३१९ विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १२६ जना यात्रु लिएर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।सो विमान आजै चीनको छेङ्दुबाट पोखरा आएको थियो। पोखरामा हुने ड्रागन बोट फेस्टिभलका लागि चीनबाट टोली लिएर सो विमान पोखरा आएको थियो।
पोखरामा चिनियाँ टोलीलाई छाडेर त्यहाँबाट १२६ जना लिएर विमान काठमाडौं आयो । बिहान १० बजे सो विमान पोखरामा अवतरण गरेको थियो। त्यहाँबाट उडेको २६ मिनेटमा विमान काठमाडौं आइपुगेको हो। काठमाडौं आएको विमानमा सबै आन्तरिक यात्रु छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले यसको पुष्टि गरेका हुन् ।सिचुवानले यस अगाडि पनि पोखरामा चार्टर उडान गर्दै आएको छ। यसपटक भने उसले पहिलोपटक पोखरा–काठमाडौं यात्रु सहितको उडान गरेको हो।जहाज काठमाडौं अवतरण पछि पुनः यात्रु लिएर छेङ्दु उडान जाने तालिका रहेको प्रवक्ता शेर्पाले जनाएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij