Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया बढायो , अध्ययन समिति गठन

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया बढायो , अध्ययन समिति गठन

  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन  प्रक्रिया अगाडि बढाउन अध्ययन समिति गठन गरेको छ। सेबोनको संचालक समितिको बिहीबार बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव र सेबोनका संचालक विनोदकुमार भट्टराईको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।

    सम्बद्ध स्रोतका अनुसार समितिलाई केही विषयहरूलाई उल्लेख गरी अध्ययन गर्ने म्यान्डेट दिइएको छ । सो  म्यान्डेट अनुसार मन्त्रिपरिषद्को निर्णय , अर्थ मन्त्रालयको पत्र, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रतिवेदनसमेत माथि यो समितिले अध्ययन गर्ने भएको छ ।

    समितिले यी विषयहरूको अध्ययन गरी कार्ययोजना प्रस्तुत गर्नेछ । जसको आधारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढ्ने योजना रहेको जनाइएको छ।नयाँ स्टक एक्सचेन्जको पृष्ठभूमि तीन वर्ष अघि तयार भएको थियो । २०७९ असोजमा सेबोनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो।

    सो आह्वान अनुसार हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए।सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सेबोनले आवेदन प्रक्रिया स्थगित गरेको थियो।

    २०७९ चैतमा सेबोनले मूल्यांकन समिति गठन गरी  उक्त प्रक्रिया अघि बढाएको थियो। २०८० वैशाखमा मन्त्रिपरिषद्ले प्रक्रिया रोक्न निर्देशन दिएको थियो।  त्यसपछि २०८० कात्तिकमा प्रतिनिधि सभाको अर्थ समितिले प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
    राजनीतिक विवादले उक्त प्रक्रियामा असर देखियो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियालाई लिएर राजनीतिक विवाद रहेको छ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा यस प्रक्रियालाई चोरबाटो भन्दै खुला प्रतिस्पर्धाबाट लाइसेन्स दिनुपर्ने माग गरेका छन्।सेबोनका केही संचालकहरू  यस विवादित विषयमा सहभागी हुन संशकित रहेका छन् । 

    २०८० पुसमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । शिवाकोटी समितिले दुई विकल्पसहित प्रतिवेदन पेश गरेको थियो । तर प्रचण्ड सरकारले  त्यसलाई अगाडि बढाउन सकेन् ।

    पुस पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।ओलीको उक्त निर्णय अनुसार माघ पहिलो साता अर्थ मन्त्रालयले सेबोनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन पत्र पठाएको थियो। सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यस विषयमा परामर्श गरेका थिए।

    ओली सरकारले गरेको पहल अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन सेबोनले गठन गरेको अध्ययन समितिले म्यान्डेट अनुसारका विषयहरू अध्ययन गरी कार्ययोजना प्रस्तुत गर्नेछ। यसले प्रक्रियालाई गतिशील बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। तर यस विषयमा राजनीतिक विवाद र संस्थागत चुनौतीहरूले प्रक्रियालाई जटिल बनाएको पर्यवेक्षकहरूको भनाइ छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij