Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको मर्मत कार्य सुरु

बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको मर्मत कार्य सुरु

  • काठमाडौं। बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ। सडक विभागले गत असोजमा आएको बाढीले क्षति पुर्‍याएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको विभिन्न खण्डमा  मर्मतको काम थालेको हो।विभागका अनुसार, बाढीले राजमार्गको १३ किलोमिटर लामो खण्डमा ठूलो क्षति पुर्‍याएको मध्ये ८.५ किलोमिटर सडक पूर्ण रूपमा बगिसकेको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार, हाल विभागले आफ्ना उपकरण र जनशक्ति परिचालन गरी विभिन्न खण्डहरूको मर्मत कार्य सुरु गरेको छ।

    न्यौपानेका अनुसार बाढीले क्षति पुर्‍याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने भएको छ । बाँकी खण्डहरूमा सडक चौडा गर्ने, सम्याउने, ग्राभेल भर्ने लगायतका कामहरू गर्नुपर्ने छ जुन अहिले सुरु भइसकेको छ।उनले  उक्त सडक खण्डको मर्मतका लागि भक्तपुर र खाल्डे डिभिजन परिचालित भइसकेको बताउँदै  विभागले आफ्नै स्रोतसाधन र जनशक्ति अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानहरूको मर्मत कार्य सुरु गरेको बताए। उनले काम नभएका स्थानबाट यन्त्र र उपकरण ल्याएर पनि कामलाई तीव्रता दिने बताए।

    सडक डिभिजन, भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार, हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर उक्त सडकको मर्मत कार्य सुरु गरेको छ। अहिले हामीले बीपी राजमार्गलाई नै पहिलो प्राथमिकता  दिइएको छ । आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको स्रोतसाधन अधिकतम उपयोग गरी काम भइरहेको छ।

    वर्षायाममा यातायात अवरुद्ध हुन नदिने लक्ष्य राखिएको बताउँदै    डिभिजन प्रमुख योगेशले आवश्यक परेमा रातको समयमा समेत काम गरी मर्मत कार्यलाई चुस्त र तीव्र बनाउने बताए।गत असोजमा बाढीसँगै आएको पहिरोले बीपी राजमार्गमा क्षति पुर्‍याएको सडकमा आगामी वर्षायाममा यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुनर्निर्माणको काम सुरु गर्न हालै  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिएका थिए।

    गत शनिबार मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभाग महानिर्देशक रामहरि पोखरेल, भक्तपुर र खाल्डे डिभिजन प्रमुख लगायतले स्थलगत निरीक्षण गरेका थिए । मन्त्री दाहालले बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माणमा स्रोत अभाव हुन नदिने भन्दै मर्मत एवं पुनर्निर्माणलाई तीव्रता दिननिरीक्षण क्रममा  निर्देशन दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij