Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माण सुरु, सिद्धार्थ, एसबीआई, सिटिजन्स, एभरेष्ट र नबिलको साढे ५ अर्ब लगानी

३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माण सुरु, सिद्धार्थ, एसबीआई, सिटिजन्स, एभरेष्ट र नबिलको साढे ५ अर्ब लगानी

  • म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवद्र्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरेका छन् । 

    आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु भएको बताए । “पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ”, उनले भने, “बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो ।”

    माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । 

    म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेर आयोजना निर्माणस्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । 

    सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध र बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी निर्माण थालिएको छ ।  चार किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आउटलेटदेखि विद्युत्गृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । 

    कूल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धक र आमनागरिकको सेयरबाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकको पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।  

    सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहने आयोजना निर्माण भएपछि दुई सय १५ दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । उत्पादित विद्युत् विद्युतगृहदेखि नौ दशमलव दुई किलोमिटर दुरीको एक सय ३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सवस्टेसनमा जोडिनेछ ।

    शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दीलगायत यस क्षेत्रमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोडिने बताए । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माणकार्य अन्तिम चरणमा रहेको उनले जानकारी दिए । 

    धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले माथिल्लो म्याग्दीलगायत आठ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको बताए । जलविद्युत् आयोजना समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिने उनको भनाइ थियो । 

    धवलागिरि गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद घर्ती, वडा सदस्य रिम रोका र हरिप्रसाद तिलिजाले जलविद्युत् आयोजनासँगै दुर्गम र विकट क्षेत्रमा विकास भित्रिएको बताए । जलविद्युत् आयोजनाले निर्माण गरेको सडकबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको उनले बताए

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij