
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूबीच गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै माओवादीबाट प्रचण्ड मिसिएको अध्यक्ष नेपालले बताए । उनले भने ‘ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरु गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र, पछि मात्रै हुन् प्रचण्ड जी ।’
तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गर्दै उनले उनले अगाडि भने ‘मंसिरमा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको साउनमा हो । बसेर सहमति गरेको ११ वैशाख २०६३ मा हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ ।’
कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको अध्यक्ष नेपालले खुलाउँदै भने ‘हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ ,सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको अध्यक्ष नेपालले पछिल्ला घटनाक्रमप्रति लक्षित गर्दै बताए ।
अध्यक्ष नेपालले भने ‘अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको छ । यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् । बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो । हामीले त केपी ओलीलाई समेत राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने, अनुहार नै मन नपराउने मान्छेलाई त राम्रो गरिदिनूस् भनिरहेका छौँ । हामीले कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ ।’
राजावादीको आन्दोलनका बेला एमाले, कांग्रेस, माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा दिए पनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै नेपालले सरकारको आलोचना गरे । उनले आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij