
झापा । भारत तर्फको भन्सारबाट फकाईएका नेपाली प्लाइउड अब प्रवेश पाउन थालेको छ । ‘ब्युरो अफ इन्डियन सर्टिफिकेट’ (बीआईएस) नवीकरणको नाउँमा रोकिएका प्लाइउडको निर्यात हुन लागेको हो ।नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित स्थल भन्सारमा रोकिएको ३४ ट्रक नेपाली प्लाइउड प्रवेश पाएको थिएन् । २४ दिन भन्सारमा रोकिएर फर्किएको थियो ।
१० वटा प्लाइउड उद्योगले बीआईएस नवीकरण प्राप्त गरेपछि निर्यात सुरु भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका छन् । अहिले ६ उद्योगले प्लाइउड उत्पादन गरी भारत निर्यात गरिरहेका छन् । ४ उद्योगले दुई दिनअघि मात्रै नवीकरण प्राप्त गरेका छन् ।
ग्रिनसाई प्लाइउड उद्योग विराटनगर, सेन्चुरी प्लाइउड उद्योग विराटनगर, एभरेस्ट प्लाइउड उद्योग इटहरी, भुसाल प्लाइउड उद्योग बुटवल, सावरिया प्लाइउड उद्योग झापा र श्याम प्लाइउड उद्योग भैरहवाले अहिले प्लाइउड उत्पादन गरी निर्यात गरिरहेका छन् । झापाका तीन प्लाइउड उद्योग (अम्बे, सञ्जीवनी र झापा प्लाइउड उद्योग) ले नवीकरण प्राप्त गरेका छन् भने दाङको गणपति प्लाइउड उद्योगले पनि नवीकरण प्राप्त गरेको छ ।
संघका अध्यक्ष घिमिरेका अनुसार देशभर ८० वटा प्लाइउड उद्योग स्थापना भएका छन् । भारत निर्यातका लागि ४७ उद्योगले आवेदन दिएका थिए । तीमध्ये १० वटाले बीआईएस प्राप्त गरेका छन् । ३७ उद्योग प्राप्त गर्ने प्रक्रियामा रहेका छन् । यसरी नवीकरणका लागि आवेदन नदिने उद्योगको बजार नेपाल भित्र नै रहने भएको छ ।
अध्यक्ष घिमिरेका अनुसार भारतको तुलनामा नेपालमा उत्पादित प्लाइउडको गुणस्तर राम्रो छ । नेपाल सरकारले उचित पहल गरिदिने हो भने बाँकी ३७ उद्योगले पनि चाँडै नवीकरण पाउने विश्वास गरिएको छ।प्लाइउडको निर्यात खुलेपनि परिमाण धेरै भइरहेको देखिएको छैन् । पहिले दिनकै ३०–४० ट्रक भारत पुग्ने गरेकोमा अहिले दिनको ३–४ ट्रक मात्रै भारत गइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij