Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल

सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल

  •  

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा र प्रचलन निषेध गरिसकिएकाले त्यससँग जोडिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्ध रहेको बताउनुभएको छ । 

     

    आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिका प्रतिनिधिहरूसँग भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । 

     

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले मुक्तिको घोषणा गरिए पनि कतिपय समुदायको पुनःस्थापनासँग सम्बन्धित काम सम्पन्न नभएको गुनासा आइरहेकाले सरकारले समस्या समाधानका लागि योजना बनाइरहेको बताउनुभयो । “सरकारले बँधुवा श्रममा आधारित सबै प्रकारका प्रथा अन्त्य गरिसकिएको छ । 

     

    त्यस क्रममा कमैया, कम्लरी, हरवाचरवा, हलियालगायतलाई विभिन्न समयमा मुक्तिको घोषणा गरिसकेको छ । धेरैजसो पुनस्र्थापनाका काम सम्पन्न भइसकेका छन् तर थप केहीको पुनस्र्थापनालगायत समस्या समाधान नभएको गुनासाबारे सरकार गम्भीर छ”, उहाँले भन्नुभयो । 

     

    छलफलमा राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिका सहसंयोजक राजुराम भुल नेतृत्वको टोलीले उपप्रधानमन्त्री पौडेललाई मुक्त हरवाचरवा, हलिया, कमैया र कम्लरीको पुनस्र्थापनाका सवाल तथा विभिन्न माग राखिएको ध्यानाकर्षणपत्र बुझाइएको थियो । टोलीले यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिको सिफारिस कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत योजनाबद्ध रूपमा काम अगाडि बढाउन माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij