Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

सरकारद्वारा शिक्षकहरूलाई वार्तामा आउन आह्वान

सरकारद्वारा शिक्षकहरूलाई वार्तामा आउन आह्वान

  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूसँग संवाद गरी समाधान खोज्न तत्पर रहेको जनाउँदै वार्ताका लागि नेपाल शिक्षक महासंघलाई औपचारिकरूपमा आह्वान गरेको छ। मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडै पारित होस् भन्ने मागसहित भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ताका लागि आह्वान गरेको हो ।

    शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभामा छलफलको प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकलाई समयमै पारित गर्ने वातावरण बनाउन सरकार प्रयत्नशील रहेको जनाएका छन् ।
    जारी विज्ञप्तिमा भनिएको छ ’शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविक हो,’ 

    शिक्षामन्त्री पन्तले विगतमा झैँ शिक्षकहरूसँग निरन्तर संवाद तथा छलफल गर्दै सामूहिक रूपमा समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पार्दै  संविधान र कानुनी प्रक्रियाअनुसार विधेयक संसद्मा पेस हुने, छलफल र स्वीकृतिको प्रक्रिया तय भइसकेको जनाएका छन् । साथै  उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई वार्तामा आउन सरकारको तर्फबाट आह्वान गरेका छन्।

    २४ दिनदेखि आन्दोलनमा सडक तताइरहेका शिक्षकलाई सरकारले यो चौथोपटक वार्ताका लागि बोलाएको हो ।
    बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।सर्वोच्चको अन्तरिम आदेशले  सरकार र आन्दोलनरत शिक्षक वार्तामा बस्न र निष्कर्षमा पुग्न बाध्य भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij