
काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले ‘ट्रम्प प्रभाव’ले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाउँदै गर्दा विश्वव्यापी रूपमा नै मानवअधिकार सङ्कट पैदा हुने चेतावनी दिएको छ ।एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो जनाएको हो । विश्वभरी भइरहेको अधिनायकवादी अभ्यासहरूको फैलावट र विमतिको निर्मम दमनमाथि प्रकाश पार्दै एम्नेस्टी इन्टरनेसनलले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको जनाएको छ ।
असमानता, जलवायु सङ्कट र प्रविधि रूपान्तरण जस्ता चुनौतीहरू सम्बोधनका लागि देखिएको विश्वव्यापी विफलताका कारण भावी पुस्ताको भविष्यलाई जोखिममा पारेको बताउँदै एम्नेस्टी इन्टरनेसनलले अधिनायकवादी अभ्यासहरूको उदय र अन्तर्राष्ट्रिय कानुनको पूर्ण विनाश अवश्यम्भावी भएको बताएको छ । मानवअधिकारमाथिको आक्रमणलाई मानिसहरूले प्रतिवाद गर्दैछन् र गर्ने छन् ; सरकारहरूले नै अन्तर्राष्ट्रिय न्याय सुनिश्चित गर्न सक्छन् र उनीहरूले त्यसो गर्नैपर्छ आफ्नो वार्षिक प्रतिवेदन द स्टेट अफ द वर्ड्स ह्युमन राइट्स (विश्वको मानवअधिकारको अवस्था) लाई सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षणलाई निस्तेज पारिरहेको र विश्वका अर्बौँ मानिसहरूको जीवनलाई जोखिमतातिर धकेलिरहेको ट्रम्प प्रशासनको मानवअधिकार विरोधी अभियानले यसअघिदेखि नै विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको चेतावनी प्रतिवेदनमा जनाइएको छ ।
१५० देशको मानवअधिकार अवस्थामा गरिएको आफ्नो मूल्याङ्कनका आधारमा एम्नेस्टी इन्टरनेसनलले सबैका लागि विश्वव्यापी मानवअधिकार स्थापना र प्रवर्धनका लागि भएको दशकौंदेखिको मेहनतपूर्ण प्रयासलाई मेटाउँदै र सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्र्तघुलित भएको एउटा क्रूर नयाँ युगतर्फ धकेल्दै यो “ट्रम्प प्रभाव“ले सन् २०२४ भरी विश्वका अन्य नेताहरूद्वारा भएको क्षतिलाई अझ जटिल बनाइदिएको उल्लेख गरेको छ। ‘वषैपिच्छे हामीले मानवअधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारे चेतावनी दिँदै आएका छौं। तर प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्य गर्दा यो संसार धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ’ एम्नेस्टी इन्टरनेसनलले आफ्नो प्रतिवेदन २०२४÷२५को बारेमा जारी गरेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij