काठमाडौँ ।नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागलाई ज्ञापन पत्र बुझाएको छ । अनधिकृत व्यापारलाई नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक कुमार दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
व्यवसाय गर्ने वातावरण खलबलिँदै गएको , समग्र अर्थतन्त्र बिग्रदैँ गएको , आर्थिक गतिशीलता शिथिल भएको अवस्थामा सरकारले एमआरपी र लेबलिङको कुरा ल्याएर अन्यौलता सिर्जना गरेको भन्दै महासंघले वाणिज्य विभाग मार्फत सरकारको ध्यानाकर्षण गरेको महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले नयाँ सडकलाई बताए । उद्योगी व्यवसायीलाई राज्यले विभिन्न बहानामा दुख र झन्झट दिएको महासंघका एक सदस्यले बताए । भन्सार मूल्यांकनमा समस्या रहेको , राजस्वका विभिन्न निकाय र महानगर लगायतले व्यवसायीलाई दुख दिएको भन्ने विषय समेत महासंघले ज्ञापनपत्रमा उल्लेख गरेको छ । महासंघले ज्ञापनपत्र मार्फत एमआरपी लगाउने बारे सरकारको ध्यानाकर्षण गराएको महासंघका महासचिव नवीन लुँइटेलले बताए ।
विभागले नेपालको संविधानको धारा ४४ को उपभोक्ताको हकको भावना र मर्म अनुरुप एवं उपभोक्ता हित संरक्षण ऐन २०७५को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधरणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने कानुनी व्यवस्था रहेको सर्वविदितै नै छ भन्दै सोही ऐनको दफा २१ बमोजिम वस्तु तथा सेवाको मापदण्ड निर्धारण गर्न मार्गदर्शनको परिधिभित्र रहेर सम्बत २०८१चैत २० गते भित्र स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तुमा भए पैठारीकर्ताले विवरणहरू खुल्ने गरी लेबल लगाउन भनेको थियो ।