Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि दोस्रो चरणको आईपीओ निष्कासन गर्दै

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि दोस्रो चरणको आईपीओ निष्कासन गर्दै

  •  

    काठमाडौं — ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि दोस्रो चरणको प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ। यसअघि कम्पनीले कुल निष्कासन हुने शेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँट गरिसकेको छ। अब बाँकी शेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस निष्कासनअन्तर्गत कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्दैछ। जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५ प्रतिशत अर्थात् १ लाख ९८ हजार ५८४ कित्ता सामूहिक लगानी कोषलाई, र २ प्रतिशत अर्थात् ७९ हजार ४३३ कित्ता कम्पनीका कर्मचारीहरूलाई छुट्याइएको छ। अब बाँकी ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

    आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा जेठ १९ गतेसम्म खुला रहने यो आईपीओमा सो अवधिमा पर्याप्त आवेदन नपरेमा अवधि जेठ २८ गतेसम्म लम्ब्याइनेछ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले मेरोशेयर अनलाइन प्रणाली, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट आवेदन दिन सक्नेछन्।

    कम्पनीले गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस’  रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ।

    कम्पनीको पहिलो परियोजना काठमाडौंको थापाथलीस्थित ट्रेड टावर हो। यसले ललितपुरको भैसेपाटीमा १९० युनिट अपार्टमेन्ट निर्माण गरी दोस्रो परियोजना पनि सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षसम्म कम्पनीको सञ्चित नाफा ४ करोड ८२ लाख रुपैयाँ रहेको छ भने यसको प्रतिसेयर वास्तविक नेटवर्थ १२३ रुपैयाँ ९ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij