Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

  • काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले आव २०८२÷८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । आव २०७९÷८० को बजेट वक्तव्यअनुसार अहिले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ ।  

     

    सामाजिक सुरक्षा ऐन, २०७५ को दफा ४ मा दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले ७० वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताका रुपमा सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था छ । 

     

    बैठकमा सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई समाज कल्याण परिषद्मार्फत एकद्वारबाट परिचालन गर्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनको आश्यकता औँल्याउनुभयो । उहाँले नेपाल राष्ट्र बैङ्कलाई पत्र लेखी परिषद्को स्वीकृति प्राप्त गरेका परियोजनाको मात्र रकम परिचालन गर्ने÷गराउने कार्यमा सहजीकरण गर्न अनुरोध भएपश्चात् परिषद्को दायरामा आउने संस्थामा वृद्धि हुँदै गएको जानकारी दिनुभयो । तर पूर्ण रुपमा गैरसरकारी संस्था यस प्रक्रियामा आउन नसेको उहाँको भनाइ थियो । 

     

    मन्त्री सुडीका अनुसार राष्ट्रिय गैरसरकारी संस्थाद्वारा सञ्चालन हुने परियोजना आव २०८०÷८१ मा एक हजार ३०४ संस्थाको दुई हजार ८४ परियोजना सञ्चालनमा थिए । यस्तै चालु आवको चैत मसान्तसम्म एक हजार ३२४ संस्थाको एक हजार ८३३ परियोजना स्वीकृत भएका छन् । गत आवमा ४४ अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको र चालु आवको वैशाखसम्म २० अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सम्झौता भएको छ ।

     

    मन्त्री सुडीले सप्तरीको शम्भूनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदा, चन्दरसदालगायत दलित परिवारको नागरिकता नहुँदा ७२ वर्षको उमेरमा पनि ज्येष्ठ नागरिक भत्तालगायत राज्यबाट प्राप्त हुने अन्य सुविधा उपलब्ध नभएकाबारे सदनलाई जानकारी दिनुभयो । 

     

    “यी व्यक्तिले भत्ता प्राप्त गर्न नसक्नुको कारण नागरिकता प्रमाणपत्र नहुनु हो । नागरिकता प्रमाणपत्र नहुुने व्यक्तिले सामाजिक सुरक्षा परिचय प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था छ”, उहाँले भन्नुभयो । 

     

    त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij