
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ५ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गरेको छ। यो समायोजन सोमबारको अन्तिम कारोबार मूल्य ५४८.८७ रुपैयाँलाई आधार मानी गरिएको हो।
समायोजन पछि सेयरको मूल्य ३२४.४४ रुपैयाँमा स्थिर भएको छ। मंगलबारदेखि यही नयाँ मूल्यमा कारोबार सुरु हुनेछ।
शेयर बजार : नेप्से परिसूचकमा २२.९९ विन्दुले बढेर २६३२.०५ अंकमा , ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार
काठमाडौं।नेप्से सूचक २२.९९ विन्दुले बढेर २६३२.०५ अंकमा आएको छ । ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार भने अघिल्लो दिनको तुलनमा घटेको हो ।
३ सय २४ कम्पनीको १ करोड ६२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
सेबोनद्वारा ११ धितोपत्र दलाल कम्पनीहरूद्वारा कारबाही
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमित गर्नुपर्ने काम नगर्ने ११ धितोपत्र दलाल कम्पनीलाई सचेत गराएको छ । ती दलाल कम्पनीले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएकाले सेबोन सचेत गराएको हो ।
सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ बमोजिम पालना गर्नुपर्ने काम कम्पनीहरूले गर्नुपर्नेछ । त्यस्तो काम नगरेको पाएपछि बोर्डले कारबाही स्वरूप सचेत गराएको जनाएको छ ।
धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।
पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ। कम्पनीले बोर्डबाट जेठ २ गते स्वीकृति प्राप्त गरेको हो।
स्वीकृति अनुसार, कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पाउनेछ। यसअनुसार, कम्पनीले १ बराबर ०.५० को अनुपातमा, कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्नेछ।
राप्ती हाईड्रोले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै, जेठ ५ सम्मका शेयरधनीलाई मात्र अवसर
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले बुक क्लोजको मिति जेठ ६ गते निर्धारण गरेको छ। सोही आधारमा, जेठ ५ गतेसम्म नाममा कायम रहेका शेयरधनीहरू मात्र हकप्रद शेयर खरीद गर्न योग्य हुनेछन्।
कम्पनीले हालको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही मूल्य बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार, कम्पनीले १स्१ को अनुपातमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्नेछ। यस प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ।
ट्रेड टावरको वैदेशिक रोजगारी आइपीओ बाँडफाँट सम्पन्न
काठमाडौं । काठमाडौं ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर वैशाख २८ गते बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, गोलाप्रथामार्फत ३९ हजार ७२६ जना आवेदकलाई १० कित्ताका दरले कुल ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर बाँडफाँट गरिएको हो।
कम्पनीले वैशाख ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँटको नतिजा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आइपीओ नतिजा हेर्ने वेबसाइटमार्फत हेर्न सकिनेछ।
एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते, २.५०% बोनस सेयर प्रस्ताव
काठमाडौं । एनएलजी इन्सुरेन्सले आगामी जेठ २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा आम्रपाली ब्यांक्वेट, चिरबम सडक, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाहसम्बन्धी छलफल गरिनेछ। साथै, २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा रहेको छ।
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ ।
अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चटङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरको छ ।
माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको आकस्मिक भेटवार्ताले मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
यससँगै, नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । दुवै नेताबीच केही गम्भीर राजनीतिक परिस्थितिबीच वार्ता हुन लागेको हो । वार्ताबारे जनाए पनि सचिवालयले विशेषबारे केही खुलाएको छैन् ।
रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्न आदेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको अदालतले बताएको छ ।
विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
भन्सार नतिरी ल्याइएका तीन करोड एकसट्ठी लाखका कृषि औजारसहितका कन्टेनर नियन्त्रणमा
सुरुङ्गा (झापा)। जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याइएका धान काट्ने मेसिन (कृषि औजार) सहित तीनवटा कन्टेनर पक्राउ गरेको छ । पक्राउ परेका सामग्रीको मूल्य रु तीन करोड ६१ लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनरलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
स्रोत नखुलेको २० लाख रुपैयाँसँग २४ वर्षीय युवक पक्राउ
काठमाडौंँ । प्रहरीले काठमाडौंको जुद्ध सालिक क्षेत्रबाट २४ वर्षीय एक युवकलाई २० लाख रुपैयाँभन्दा बढी नगद रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाहबिसे–४ पलाती घर भइ काठमाडौंको पेप्सीकोला बस्ने २४ वर्षीय संजय बस्नेत हुन् ।
प्रहरीले आइतबार दिउँसो उनलाई नियन्त्रणमा लिएको जनाइएको हो। खानतलासी गर्दा उनको साथबाट नगद २० लाख २९ हजार ६ सय २० रुपैयाँ र हस्ताक्षर गरेको तथा खाली विभिन्न बैंकका ३० वटा चेक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले आव २०८२÷८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । आव २०७९÷८० को बजेट वक्तव्यअनुसार अहिले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ ।
सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको हो । आरोपितहरू माथि जनही ५ करोड ७९ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।आयोगका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष ०७५÷०७६ मा खरिद गरिएका मुख्य उपकरणको प्राविधि विवरणहरू अनलाइनमा प्राप्त विवरणसँग मिल्न गएको र अनलाइनमा उल्लिखित मूल्यसूचीभन्दा बढीमा खरिद गरेको पाइएको उजुरीका सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको हो ।आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि, पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
काठमाडौँ।काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए ।
बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक अवतरण भएको हो । विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।
रसुवागढी नाकाबाट सात किलोभन्दा बढी अवैध सुन बरामद, ट्रक चालक पक्राउ
काठमाडौँ।रसुवागढी नाकाबाट आइतबार ठूलो मात्रामा अवैध सुन बरामद भएको छ। नेपाल प्रहरीको टोलीले चीनबाट लुकाएर ल्याइएको सात किलोभन्दा बढी सुन जाँचको क्रममा फेला पारेको हो।
प्रहरीका अनुसार, स्याउ बोकेको वा४ख ६२०१ नम्बरको ट्रकमा सुन लुकाइएको थियो। ट्रक चलाइरहेका गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी निवासी २४ वर्षीय किशोर भुजेललाई तत्कालै नियन्त्रणमा लिइएको छ।
बरामद सुनको तौल सात किलो ६५३ ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य झन्डै ११ करोड ११ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ। प्रारम्भिक अनुसन्धानमा भुजेल केही समयअघि मात्र जिल्ला बाहिरबाट बसाइँ सरेको पत्ता लागेको छ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij