
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ७ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
ग्लोबल आइएमई क्यापिटललाई १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड योजना बिक्रीको अनुमति
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना सार्वजनिक बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले सञ्चालन गर्न लागेको यो बन्दमुखी म्युचुअल फन्ड योजना 'ग्लोबल आइएमई समुन्नत योजना-२' अन्तर्गत कुल १२ करोड इकाई बिक्री हुनेछन्। प्रतिइकाई १० रुपैयाँ मूल्य निर्धारण गरिएको यस योजनाको कोष व्यवस्थापन ग्लोबल आइएमई क्यापिटलले नै गर्नेछ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई १ अर्बको ऋणपत्र बिक्री अनुमति, ८% ब्याजदर
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल १० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ।
यस अन्तर्गत ४ लाख इकाई ९४० करोड रुपैयाँ बराबर० सर्वसाधारणका लागि सार्वजनिक रूपमा जारी गरिनेछ, भने बाँकी ६ लाख इकाई (६० करोड रुपैयाँ) विभिन्न संघसंस्थाहरूलाई व्यक्तिगत रूपमा बिक्री गरिनेछ।
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ ।
वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उहाँले भन्नुभयो, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।”
बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
शेयर बजार : नेप्से परिसूचकमा ६.९३ बिन्दुको गिरावट, कारोबार साढे १० अर्ब बढी , नेप्से २६७०.५१ बिन्दुमा
काठमाडौँ । आज बुधबार शेयर बजारमा ६.९३ बिन्दुको गिरावट भई नेप्से परिसूचक २६७०.५१ बिन्दुमा झरेको छ ।
२ करोड ३० लाख २६ हजार २ सय ४५ कित्ता शेयरको खरिद बिक्री भई बुधबार कुल कारोबार १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६सय ८० रुपैयाँ ७० पैसा बराबर भएको हो ।
नेको इन्सुरेन्सले अवितरित ४३,७७९.५२ कित्ता संस्थापक हकप्रद शेयर बाँडफाँट गर्यो
काठमाडौं ।नेको इन्सुरेन्स लिमिटेडले हकप्रद निष्कासनपछि अवितरित रहेको ४३,७७९.५२ कित्ता संस्थापक तर्फको हकप्रद शेयर लिलामीमार्फत बाँडफाँट गरेको छ। कम्पनीले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्दा संस्थापक पक्षमा बाँकी रहेका सेयरहरू वैशाख १२ देखि २१ गतेसम्म लिलामीमा बिक्री खुला गरेको थियो।
लिलामीमा प्राप्त गोप्य शिलबन्दी आवेदन वैशाख २६ गते खोली मूल्याङ्कन गरिएको थियो भने, बाँडफाँट सम्बन्धी निर्णय कम्पनीको सञ्चालक समितिले जेठ ६ गते गरेको हो।
विदेशमा रहेका नेपालीका लागि विकास हाइड्रोपावरको आइपीओमा १.८७ गुणा बढी आवेदन
काठमाडौं ।विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुला गरेको प्राथमिक सेयर मा मागभन्दा १.८७ गुणा बढी आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, मंगलबार ९जेठ ७० बिहान १०:०७ बजेसम्म कुल २८ हजार ९९९ जना आवेदकले ६ लाख ६४ हजार ७१० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जसको कुल रकम ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ पुगेको छ।
प्रि ओपन सेसन : नेप्से सूचक ३४.७९ अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ विन्दुले बढेको छ । यससँगै सूचक २७१२.२५ अंकमा आएको छ । ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ५८ कम्पनीको १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७ सय १३ वटा कारोबार भएको हो ।
गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा ३०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु
गाजा ।गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ । यसैगरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ ।
सञ्चारमाध्यले प्यालेस्टिनीमाथि लादिएको भोकमरीको कारण गाजामा बढ्दो मानवीय प्रकोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो प्रवृतिको निन्दा गरेको छ । खाना चिकित्सा सेवा र इन्धनको प्रवेश रोक्न लगातारको नाकाकन्दी गाजाका २४ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूको जीवनलाई खतरा पु¥याउन कदमलाई विनाशकारी मानवीय आपराधिक प्रवृतिको रूपमा चित्रण गरिएको छ ।
बाफिया विधेयक जस्ताको तस्तै पास भए बैंकमा अझै धेरै पैसा थुप्रिन्छः पूर्वगभर्नर नेपाल
काठमाडौं — अर्थ समितिमा बुधवार बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) माथि विस्तृत छलफल भएको छ। छलफलमा सहभागिता जनाउँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले अहिलेको स्वरूपमा बाफिया विधेयक पारित भएमा बैंकहरूमा पैसा अझ बढी थुप्रिने र लगानी विस्तारमा अवरोध पुग्ने चेतावनी दिएका छन्।
उनका अनुसार विधेयकमा समावेश गरिएका केही प्रावधानहरू लगानीमैत्री नभएकोले आर्थिक गतिविधिमा संकुचन आउन सक्छ। पूर्वगभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरू विज्ञ हुनुपर्ने आवश्यकतामा जोड दिँदै सञ्चालक संख्या ११ देखि १२ बीच राख्दा उपयुक्त हुने सुझाव दिए।
मन्त्रालय तानिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यायगमन विभागका प्रमुख भट्टराई पक्राउ
काठमाडौँ । मन्त्रालय तानिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यायगमन विभागका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका छन् । प्रहरीले केहीबेर अघिमात्रै गृह मन्त्रालयका सहसचिव भट्टराईलाई पक्राउ परेको हो ।
उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।स्रोतले पक्राउको कारण आउन बाँकी रहेको जनाएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त :भाजपा नेता जोली
काठमाडौँ । भारतीय जनता पार्टीका (भाजपा) नेता डा.विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् । नेपाल भ्रमणमा रहेका भाजपा नेता जोलीले बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।
भाजपा नेता जोलीले सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको बताउँदै नेपाल–भारतबिचको सम्बन्ध अटुट रहेको बताए । यसलाई निरन्तर अघि बढाइने बताउँदै नेपाल र भारतबिच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको बताए । नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको जनाउँदै जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने बताए । नेपालीभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरूलाई मात्रै रहेको उनले बताए ।
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृत्यु
क्वेटा ।पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।
बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भन्नुभयो, “एपीएस ९आर्मी पब्लिक स्कूल० का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ ।”
उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको छ ।”
गभर्नर पौडेलको पहिलो निर्णय : ५०० र १००० दरका नयाँ नोट छापिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथग्रहणपछि पदबहालीको पहिलो निर्णय स्वरूप ५०० र १००० रुपैयाँ दरका नयाँ नोट छपाइको प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन्। बुधबार बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा पदभार ग्रहण गरेपछि उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन्।
नयाँ गभर्नरहरूले पदबहालीपछि कुनै न कुनै ठोस निर्णय लिने चलनलाई निरन्तरता दिँदै डा। पौडेलले मुद्रण प्रक्रियासम्बन्धी निर्णयलाई प्राथमिकतामा राखेका हुन्। राष्ट्र बैंकमा गभर्नरको पद करिब डेढ महिनादेखि रिक्त थियो। यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा.पौडेललाई केन्द्रीय बैंकको गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो।
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता गर्नुभएको छ । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गर्नुभएको हो । सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताउनुभयो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा
टोकियो ।चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् ।
टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भन्नुभएको थियो, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।”
चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले जापानमा ठूलो असर पारेको छ । गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण पुनः जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनको अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ।
यसअघि वैशाख १७ गते जारी गरिएको ५० अर्ब रुपैयाँको निक्षेप संकलन आजै परिपक्क हुने भएपछि, केन्द्रीय बैंकले सोही परिमाणको रकम पुनः प्रणालीबाट प्रशोचन गर्न लागेको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियाबाट आवेदन दिन सक्नेछन्। यस उपकरणमा साँवा तथा ब्याजको भुक्तानी मिति जेठ २८ गते तोकिएको छ भने ब्याजदर बोलकबोलमार्फत नै निर्धारण गरिनेछ।
बुधबार ५ हजार रुपैयाँ बढेर सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij