
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ८ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
नेप्सेमा हिमालयन रिइन्सुरेन्सको सेयर मूल्य समायोजन, नयाँ मूल्य ९३३.६९ रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्सुरेन्सको सेयरमा ४।५० प्रतिशत बोनस समावेश गर्दै मूल्य समायोजन गरिएको छ। कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरिएको हो। बोनस सेयरको प्रभाव परेपछि समायोजन पश्चात नयाँ मूल्य ९३३.६९ रुपैयाँ निर्धारण गरिएको छ। यही मूल्यलाई आधार मानेर आइतबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ।
शेयर बजार : नेप्से परिसूचकमा १९.४० अंकले बढेर २६८८.९१ बिन्दुमा, ९ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १९.४० अंकले बढेर २६८८.९१ आएको छ । आज ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज वाणिज्य बैंक समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ एउटामै नकारात्मक सर्किट लागेको छ ।
यस दिन ३ सय १४ कम्पनीको २ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र कुमारी बैंक परेका छन् ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले असार २ गते आफ्नो आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर र त्यसबापतको कर तिर्न ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
साथै, सभामा सो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, र नगद प्रवाह विवरण माथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
निफ्राको ५ अर्ब बराबरको ‘६% उर्जा ऋणपत्र’ निष्कासन जेठ १८ बाट, ब्याजदर वार्षिक ६%
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ। बैंकले ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नाममा यो ऋणपत्र जेठ १८ गतेदेखि जारी गर्नेछ।
ऋणपत्र प्रति इकाई १,००० रुपैयाँ दरमा ५० लाख इकाई जारी हुनेछ। जसमध्ये ३० लाख इकाई अन्य संघसंस्थालाई निजी रुपमा बिक्री गरिनेछ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ। सो मध्ये १ लाख इकाई सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
यो ऋणपत्र ७ वर्ष अवधिको हुनेछ र वार्षिक ६ प्रतिशत निश्चित ब्याजदर दिइने बैंकले जनाएको छ। यस ऋणपत्र निष्कासन तथा बिक्रीको व्यवस्थापन एनआइएमबी एस क्यापिटल लिमिटेड ले गर्नेछ।
रिभर फल्स पावर लिमिटेडको लक–इन अवधि सकिँदै, संस्थापक, स्थानीय र कर्मचारी सेयर कारोबार गर्न योग्य
काठमाडौं। रिभर फल्स पावर लिमिटेडका संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीहरूले होल्ड गरेका सेयरको ‘लक–इन’ अवधि आजबाट सकिएको छ। लक–इन अवधि सकिएसँगै अब उनीहरूले आफनो सेयर खुल्ला बजारमा खरिद–बिक्री गर्न पाउने भएका छन्।
कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई तथा १ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई सेयर वितरण गरेको थियो। ती सबै सेयरहरू २०७९ सालको जेठ ९ गतेदेखि तीन वर्षका लागि लक–इनमा राखिएका थिए।
प्रि ओपन सेसन : नेप्से सूचक ४.५५ अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.५५ विन्दुले बढेको छ । यससँगै सूचक २६७४.०७ अंकमा आएको छ । १३ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको २ हजार १ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ कारोबार भएको हो ।
हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, लाभांश दाबीका लागि आज अन्तिम मौका
काठमाडौं। हिमालयन रिइन्सुरेन्सले आगामी जेठ २५ गते वार्षिक साधारण सभा गर्ने जनाएको छ। सभाका लागि कम्पनीले बुक क्लोज मिति जेठ ११ गते तोकेको छ, जसअनुसार लाभांश प्राप्तिका लागि सेयरधनी आज जेठ ८ गतेसम्म कायम हुनुपर्नेछ।
किनभने जेठ ९ गते शुक्रबार र १० गते शनिबार सेयर बजार बन्द हुने भएकाले आज सेयर खरिद नगरे लाभांश दाबी गर्न नमिल्नेछ।
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ ।
लेखा समितिका छानबिन उपसमितिहरूलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन आग्रह
काठमाडौँ । सार्वजनिक लेखा समितिका छानबिन उपसमितिहरूलाई एक महिना भित्र प्रतिवेदन बुझाउन आग्रह गरिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरुलाई यस्तो आग्रह गरेको हो ।
समितिको आजको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी छानबिनका लागि गठन गरिएको उपसमितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गर्दै एक महिनाभित्रै बुझाइसक्नुपर्ने निर्देशन दिए ।
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का / फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नु भएको हो ।
सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का / फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास / सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।
इन्टरनेट सेवा प्रदायक ६ दर्जनबढी कम्पनीहरूलाई रोयल्टी बुझाउन १५ दिने सूचना जारी
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिल गर्न भनेको छ ।प्राधिकरणले बक्यौता दाखिल गर्न एक सूचना जारी गरेको हो ।
हालै सार्वजनिक गरेको सूचनामा ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन्स, वेबसर्फर नेपाल लगायतका सेवा प्रदायकहरूलाई तिर्न बाँकी रकम बुझाउन भनिएको हो । सेवा प्रदायकहरूले विगत केही वर्षदेखि नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनु पर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषको रकम समयमा नबुझाएको उक्त सूचनामा जनाइएको छ ।
चालु आवमा ८ हजार बढी ईभी आयात, असेम्बल नगरिएका तीन पांग्रे ईभीको आयातमा धेरै वृद्धि
काठमाडौँमा चालु आर्थिक वर्ष २०८१÷८२को १० महिनासम्म गत वर्षको तुलनामा ८ हजार बढी विद्युतीय वाहन (ईभी) आयात गरिएको छ ।चालु आवको १० महिनामा बस, मिनिबस, असेम्बल नगरिएका तीन पांग्रे, तीन पांग्रे, असेम्बल नगरिएका कार जीप भान ५०किलोवाट, कारजीप भान ५० किलोवाट, १०० किलोवाट , २०० किलोवाट , ३०० किलोवाट , अन्य तीनपांग्रे र चार पांग्रे वर्गीकरणमा परेका गरी २७ हजार ७सय २ थान विद्युतीय वाहनहरू (ईभी) आयात गरिएका हुन् ।
वैशाख मसान्तसम्म १४ खर्बभन्दा बढीको आयात, निर्यातमा ७२.७१ प्रतिशत वृद्धि
काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो १० महिनामा (वैशाख मसान्तसम्म) नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको आयात भएको थियो।
भन्सार विभागद्वारा सार्वजनिक विवरणअनुसार सोही अवधिमा नेपालबाट भएको वस्तु निर्यातमा उल्लेखनीय सुधार देखिएको छ। निर्यात ७२.७१ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ थियो।
यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ९ निर्णय
काठमाडौं । सरकारले मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा गरिएको नौवटा निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरूको जानकारी दिएका हुन्। मन्त्री गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्दै बैठकमा गरिएको महत्वपूर्ण नीतिगत तथा कार्यान्वयनसँग सम्बन्धित निर्णयहरू सार्वजनिक गरेका हुन्, जसले देशको प्रशासनिक तथा विकास कार्यमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ । जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो । यसका लागि जर्मन विकास बैंक ९ केएफडब्लु० ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ ।
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
एथेन्स ।ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ ।
पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ ।
सुनको भाउ तोलामा १७ सयले बढेर १ लाख ९१ हजार ५०० रुपैयाँमा पुग्यो, चाँदी पनि बढ्यो
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले बढेर १,९१,५०० रुपैयाँ पुगेको छ। बुधबार सोही सुनको मूल्य १,८९,८०० रुपैयाँ थियो।
चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि भई आजको दर २,०२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य १,९९० रुपैयाँ थियो।
नेपालमा लोडसेडिङ फेरि चर्चामा: अनुहारको राजनीति कि ऊर्जा संकटको यथार्थ?
काठमाडौं। नेपालमा फेरि लोडसेडिङका घटनाहरू बढ्दै गएका छन्। तर, यसपटक बहस नेतृत्व, अनुहार र राजनीतिक वक्तव्य वरिपरि बढी घुमिरहेको छ, वास्तविक समस्या भन्दा। कुलमान घिसिङको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको केही महिना भइसकेको छ, तर लोडसेडिङको अन्त्य भने भएको छैन।
नेपालको विद्युत उत्पादन खासगरी बर्खायाममा मात्रै पर्याप्त हुन्छ। बाँकी समय—विशेषतः हिउँद र गर्मी महिनामा—भारतबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ। यही कारणले बर्खाबाहेकका महिनामा औद्योगिक क्षेत्रहरूमा लोडसेडिङ नियमितजस्तै हुन्छ। घरायसी उपभोक्ताले समेत बेला-बेला बत्ती जानु परेको गुनासो गर्ने गरेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij