Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

  •  

    दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् । 

     

    गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिँह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उहाँले बताउनुभयो । 

     

    जडीबुटी सङ्कलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् । 

     

    अपी हिमाल गाउँपालिका–२ का स्थानीय गगनसिँह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षभरिको कमाई यही यार्सागुम्बा हो । बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु १” अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् । यहाँ वर्षौदेखि यसरी नै यार्सागुम्बा खोज्ने गरिन्छ । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ । 

     

    गाउँपालिका–३ का कमलसिँह धामी पनि वर्षभरिका अत्यावश्यक आवश्यकता पूर्तिका लागि यार्साको जोहो गर्नुपरिरहेको बताउनुहुन्छ । “अधिकांश ठाउँ भिरालो पाखो जमिन हो । दुई महिना यार्सागुम्बा सङ्कलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ । हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्”, उहाँले भन्नुभयो,“यार्सा खोज्न निकै कष्टकर भए पनि जीविका चलाउनका लागि यसैको भर पर्नुपर्छ”, उहाँले भन्नुभयो । 

     

    यार्सागुम्बा सङ्कलनकै लागि काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुग्ने गरेको छन् । काठमाडौँमा अध्ययन गर्दै आएका जय धामीले भन्नुभयो, “यार्सागुम्बा सङ्कलनका लागि वैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो । एक महिना यहाँ बस्छु, अनि काठमाडौँ फकिने १” उहाँ दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउनुुहुन्छ । “यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैँ धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ । यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ, राम्रै आम्दानी हुने अपेक्षा छ”, धामीको भनाइ छ । 

     

    यहाँका स्थानीय वैशाख अन्तिमसाता नै यार्सागुम्बा सङ्कलनका लागि पाटन गइसकेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ । दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययरत नौगाड गाउँपालिकाका खडकसिँह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपी पुगिसक्नुभएको छ । “एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु,” उहाँले भन्नुभयो, “हाल पढाइ मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनु प¥यो । वर्षमा दुई बाली मात्र हुने अपी हिमालका खेतबाट उत्पादित अन्नले वर्षभरि पुग्दैन । घरमा जागिर नहुनेका लागि यही विकल्प छ ।” 

     

    आम्दानी मात्रै होइन यहाँ जोखिम पनि उत्तिकै हुन्छ । पटकपटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा सङ्कलन गर्नु परेको सङ्कलक मानसिँह धामी बताउनुहुन्छ । उहाँका अुनसार घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेर पाटन जान्छन् । १२ देखि ५० वर्षसम्मका सबै मानिसहरू पाटनमा जाने गरेका छन् । यार्सा सिजन सुरु भएसँगै जिल्लाको  मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा  पनि लेक उक्लिएपछि यहाँका कतिपय घरमा ताला लागेका छन् ।

     

    जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेलालगायत क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन् ।  यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्सागुम्बा सङ्कलन हुने गर्छ । 

     

    जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर सङ्कलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन् । कार्यालयले जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी गरिरहेको कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताउनुभयो । 

     

    सबैले अनिवार्य रूपमा परिचयपत्र लिएर मात्रै सङ्कलन गर्नुपर्ने कानुनी प्रावधान छ तर त्यसको पूर्ण पालना भएको देखिँदैन ।  जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्याले बताउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij