Logo

May 26 2025 | २०८२, जेठ १२गते

May 26 2025 | २०८२, जेठ १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ११ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ११ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ११ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। हाल समीक्षा मस्यौदामाथि अन्तिम छलफलका लागि सञ्चालक समितिको बैठक बसेको छ। राष्ट्र बैंक स्रोतका अनुसार सम्भव भएसम्म आज साँझ वा नभए भोलिसम्म समीक्षा सार्वजनिक गरिने तयारी गरिएको छ।

    मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार, राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा सम्बन्धित त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। उक्त प्रावधानअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा जेठ १५ गते बिहीबारसम्म सार्वजनिक गरिसक्नुपर्ने बाध्यता छ। यसै सन्दर्भमा, राष्ट्र बैंकले समयसीमा भित्र नीति समीक्षा सम्प्रेषण गर्न आन्तरिक तयारी तीव्र पारेको छ।

    सिटिजन लाइफ इन्सुरेन्सको १ करोड ६ लाख बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ। मंगलबार कम्पनीका १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

    कम्पनीले गत चैत १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट २६.९८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही प्रस्तावअनुसार वितरण गरिएका बोनस सेयरहरू हाल सूचीकृत भएका हुन्।

     

    यस बोनस सेयर वितरणसँगै सिटिजन लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँमा पुगेको छ, जसले कम्पनीको पूँजी आधारलाई थप सुदृढ बनाएको छ।

    सान्भि इनर्जीको आइपीओमा अत्यधिक आकर्षण : हालसम्म १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको आवेदन

    काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले जारी गरेको आइपीओमा हालसम्म उल्लेखनीय उत्साह देखिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार (जेठ ११ गते) साँझ  बजेसम्म १३ लाख १० हजार ५६४ जना सर्वसाधारण लगानीकर्ताहरूले १ करोड ६३ लाख ९ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिइसकेका छन्, जसको कुल मूल्य १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबर पर्छ।

    कम्पनीले जेठ ९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ हुन्छ। सर्वसाधारण लगानीकर्ताका लागि यो आइपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १३ गतेसम्म रहेको छ। अझै दुई दिन समय बाँकी रहेकोले, मागभन्दा धेरै आवेदन पर्ने प्रबल सम्भावना देखिएको छ।

    विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

     

     

    राष्ट्रिय समाचार समिति )रासस_ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

    शेयर बजार : नेप्से परिसूचकमा ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा, ७ अर्ब ६० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा आएको छ ।  आज ७ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
    एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्स समूहमा भने सामान्य उत्साह देखिएको छ ।यस दिन ३ सय १४ कम्पनीको १ करोड ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । साढे ७१ करोड रुपैयाँसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।

    कुमारी धनबृद्धि योजनाको नाफा ९ करोड नाघ्यो, वैशाखमा आम्दानी वृद्धि

    काठमाडौं ।कुमारी धनबृद्धि योजनाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ९ करोड ४१ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ। यो योजना चैत मसान्तसम्म ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको थियो, जुन तुलनामा वैशाखमा उल्लेख्य वृद्धि हो। आम्दानीको दर बढेपछि नाफा पनि सोही अनुपातमा वृद्धि भएको हो।

     

    चैत मसान्तसम्म १० करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म ११ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। आम्दानीसँगै खर्चमा पनि केही वृद्धि देखिएको छ। अघिल्लो महिनामा १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्च गरिएकोमा, वैशाखमा त्यो बढेर २ करोड ९ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

    दोर्दी खोला जलविद्युत कम्पनीले १९ लाख ४६ हजार कित्ता हकप्रद सेयर लिलामीमा खुला गर्‍यो

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज आइतबार (जेठ ११ गते)बाट अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद सेयर लिलामीमार्फत विक्री खुला गरेको छ। यसमा शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता, लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता, र लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर समावेश छन्।

    कम्पनीले स्पष्ट पारेअनुसार, लकइनमा रहेका सेयरहरू आगामी असार ७ गते पछि फुकुवा हुनेछन्। इच्छुक लगानीकर्ताहरूले जेठ १९ गते भित्र आवेदन दिन सक्नेछन्, जसमा प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ। आवेदन न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म गर्न सकिने व्यवस्था छ।

    हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख १९ हजार कित्ता सेयर सर्वसाधारणका लागि

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन)ले जेठ ९ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।

    बोर्डका अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता साधारण सेयर  निष्कासन गर्नेछ। कम्पनीलाई कुल चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति दिइएको हो।

     

    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसका लागि २०८० साल जेठ ३१ गते धितोपत्र बोर्डमा औपचारिक आवेदन दिएको थियो।

    मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई बढेर १०.१३ रुपैयाँ पुग्यो, वैशाखमा आम्दानी र नाफा दुवै वृद्धि

    काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई खुद सम्पत्ति मूल्य  वैशाख मसान्तसम्म बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। यो चैत मसान्तमा रहेको १० रुपैयाँ ३ पैसा भन्दा १० पैसा बढी हो।

    बन्दमुखी प्रकृतिको यो योजना १० वर्षे अवधिको हो र २०८१ साल पुस ४ गतेदेखि सञ्चालनमा आएको हो। फण्डले कुल १२ करोड ५० लाख इकाइ जारी गरेको थियो। धितोपत्रमा लगानीलाई प्रमुख उद्देश्य बनाएको योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ९९ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ।

    राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी, आज बोलकबोल हुँदै

    काठमाडौं । बजारमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण  जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार, उक्त उपकरणको बोलकबोल आज आइतबार (जेठ ११ गते) दिउँसो ३ बजेसम्म हुनेछ।

    बैंक तथा वित्तीय संस्थाहरूको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिन अवधिको यो उपकरण ल्याएको हो। सो अवधिपछि साँवा र ब्याज असार १ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

    नेपाल फाइनान्सले संस्थापक सेयर लिलामी खुला गर्‍यो, न्यूनतम मूल्य १०० रुपैयाँ

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज जेठ ११ गतेदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयरको लिलामी बिक्री खुला गरेको छ। लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरू मात्र नभई अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले समेत भाग लिन सक्नेछन्।

    लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    नेपाल धितोपत्र बोर्डको पुनःसंरचना : निजी क्षेत्रका प्रतिनिधि हट्ने, नेप्सेमा स्वामित्व कायम राख्ने योजना

    काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको संरचना परिवर्तन गर्दै निजी क्षेत्रका प्रतिनिधिहरू हटाउने निर्णय अघि बढाएको छ। पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार बोर्ड पुनःसंरचनाको योजना बनाइएको हो।

    प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा गठित कार्यदलले एक वर्षभित्र नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (एक्यान) का प्रतिनिधिहरू बोर्डबाट हटाउने कार्ययोजना अघि सारेको छ।

    ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको गम्भीर आपत्ति

    ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने प्रस्ताव ल्याइएपछि युरोपेली संघ तथा त्यसका सदस्य राष्ट्रहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्तो प्रकारको दबावले दुई पक्षबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

     

    राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ उठाएको आरोप लगाउँदै सन् २०२५ जुन १ बाट लागू हुने गरी ५० प्रतिशत भन्सार कर सिफारिस गरिएको बताउनुभएका थिए।

    वर्तमान अवस्थामा दुवै पक्षबीच व्यापारसम्बन्धी वार्ता निष्क्रिय अवस्थामा रहेको छ। अमेरिकाले युरोपेली बजारमा अमेरिकी व्यवसायका लागि खुलापन माग गरिरहेको छ भने युरोपेली संघले आपसी हितमा आधारित सम्झौताको पक्ष लिँदै आएको छ।

    डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गर्नुभएको छ ।

     

     

    स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँगको बैठकमा उहाँले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गर्नुभयो । मन्त्री पौडेलले बर्खायाम लागेसँगै देखा पर्नसक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने भन्दै डेङ्गी फैलन नदिन हालैबाट लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षायाम सुरु भइसकेको छ । पानी तथा कीटजन्य महामारीबाट जोगिन आ–आफ्नो तर्फबाट तयारी थाल्नुहोला । विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेकाले यसपालि त्यो दोहोरिनुभएन ।”

    बङ्गलादेशः अन्तरिम नेता युनुसद्वारा नयाँ राजनीतिक वार्ताका साथ एकताको माग

    ढाका ।बङ्गलादेशका अन्तरिम नेताले एकता निर्माण गर्न र तीव्र राजनीतिक शक्ति सङ्घर्षलाई शान्त पार्न आइतबार विभिन्न दलसँग ‘म्याराथुन वार्ता’ आह्वान गर्नुभएको छ । 

     

    नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा सरकारको नेतृत्व गरिरहनुभएको छ । 

    करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेपछि राजनीतिक उथलपुथल मच्चिएको छ ।

    ‘जेठ अन्त्यसम्ममा फ्लाईओभर सम्पन्न हुन्छ’ : यातायातमन्त्री देवेन्द्र दाहाल

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताउनुभएको छ । आज बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उहाँले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

     

     

    जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै फ्लाईओभरबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उहाँले बताउनुभयो । “अब पनि ढिलाइ गर्ने छुट छैन”, मन्त्री दाहालले भन्नुभयो, “परिस्थिति बाहिरको प्राकृतिक विपद् नआएमा जेठको अन्त्यसम्ममा सवारीसधान सञ्चालनको तयारी गर्नुपर्छ । यो एउटा प्रतिक्षाको आयोजना भएकाले यथाशीघ्र सञ्चालन गर्नुपर्ने छ ।”

    एमालेलाई स्पष्ट बहुमत ल्याउने ‘मिसन २०८४’ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

    ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताउनुभएको छ ।

     

     

    नेकपा (एमाले)को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखसहित अन्य राजनीतिक पार्टीसँग समेत समन्वय गरेर आमजनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । 

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij