Logo

Jun 01 2025 | २०८२, जेठ १८गते

Jun 01 2025 | २०८२, जेठ १८गते

images

गर्मीका कारण उत्पादन घट्दा अण्डाको माग र मूल्य बढ्यो

गर्मीका कारण उत्पादन घट्दा अण्डाको माग र मूल्य बढ्यो

  • चितवन ।  लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।
     
    नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा)को रू ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ ।
     
    यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उहाँले भन्नुभयो, “बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।”
     
    पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताउनुभयो । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने उहाँ बताउनुहुन्छ । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् ।
     
    पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको उहाँ बताउनुहुन्छ ।
     
    अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ । नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन् । ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij