
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २० मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
विकास हाइड्रोपावरको वैदेशिक रोजगारी लक्षित आईपीओमा १४.८३ करोड रुपैयाँको आवेदन, मागभन्दा ४.१८ गुणा बढी
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ)मा १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आईपीओको अन्तिम दिन (जेठ २० गते) साँझ ५स्०७ बजेसम्म ६३ हजार ८६२ जनाले १४ लाख ८३ हजार ४५० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो आवेदन कम्पनीले निष्कासन गरेको सेयरको परिमाणभन्दा ४.१८ गुणा बढी हो।
सिटी होटलले ८०% हकप्रद सेयर बिक्रीका लागि सेबोनमा अनुमति माग्यो
काठमाडौं । सिटी होटल लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ः.८० अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो। हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिनेछ।
उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ। हाल सिटी होटलको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।
दरमखोला हाइड्रो इनर्जीलाई आईपीओ बिक्री अनुमति, ३९.५० लाख कित्ता सेयर जारी हुँदै
काठमाडौं ।दरमखोला हाइड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३९ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न पाउने भएको छ। यस अनुसार, कम्पनीले कुल ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाउनेछ।
नेष्डो समृद्ध लघुवित्तको १४.२५% बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार कम्पनीका कुल ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीबद्ध भएका हुन्। कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस सेयरहरू अब औपचारिक रूपमा सेयर बजारमा कारोबारका लागि उपलब्ध भएका छन्।
राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, गभर्नर पौडेलको निर्णयमा व्यापक फेरबदल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले कार्यकारी निर्देशकहरूको जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन्। यसपटकको निर्णयले राष्ट्र बैंकभित्रको नेतृत्व संरचनामा व्यापक फेरबदल भएको देखिन्छ।
बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा रहेका रामु पौडेललाई अब मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। उनी राष्ट्र बैंकको एक अत्यन्तै संवेदनशील र महत्वपूर्ण विभागको जिम्मेवारीबाट अन्य महत्त्वपूर्ण तर फरक प्रकृतिको भूमिकामा सरुवा भएका हुन्। उनीसँगको जिम्मेवारी साटासाट गर्दै, हालै मात्र कार्यकारी निर्देशकमा पदोन्नति पाएका दीर्घ बहादुर रावललाई बैंक सुपरिवेक्षण विभागको नेतृत्व दिइएको छ। रावल यसअघि पनि मुद्रा व्यवस्थापन विभागमै कार्यरत थिए, जसले उनलाई नयाँ जिम्मेवारीका लागि अनुभवी बनाउँछ।
शेयर बजार :नेप्से परिसूचकमा ३५.०७ अंकले घटेर २६५९.५९ बिन्दुमा, ६ अर्ब ६७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३५.०७ अंकले घटेर २६५९.५९ बिन्दुमा आएको छ । आज ६ अर्ब ६७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
वाणिज्य बैंक समूहको सूचक घट्दा समग्र सूचक बढी प्रभावित भएको देखिन्छ ।यस दिन ३ सय १५ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर कम्पनी र ङादी ग्रुप पावर परेका छन् ।
सरकारद्वारा ३ निर्माण कम्पनी कालोसूचीमा, २ विदेशी र १ नेपाली कम्पनीमा प्रतिबन्ध
काठमाडौं । सरकारले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २ वटा विदेशी तथा १ नेपाली निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा )१) अनुसार कालोसूचीमा राखिएको जनाएको हो।
कालोसूचीमा परेका कम्पनीमध्ये एकलाई २ वर्षका लागि र अर्को एक कम्पनीलाई डेढ वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन निषेध गरिएको छ। यो अवधिभर ती कम्पनीहरूले कुनै पनि सरकारी निकायको खरिद प्रक्रिया वा ठेक्कामा भाग लिन पाउने छैनन्।
ग्लोबल आइएमई लघुवित्तका ६,९६९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला
काठमाडौं ।ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका ६ हजार ९६९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरिएको छ। कम्पनीले जेठ २० गतेदेखि यी शेयर पूर्व संस्थापक शेयरधनीहरू मात्र नभई अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरीद गर्न मिल्ने गरी विक्रीमा ल्याएको हो।
यसअघि, यी शेयर केवल विद्यमान संस्थापक शेयरधनीहरूका लागि सीमित गरिएको थियो। तर सो अवधिमा अपेक्षित बिक्री नहुँदा, अब अन्य इच्छुक व्यक्ति र संस्थाले समेत खरीद गर्न सक्ने व्यवस्था गरिएको हो।
एनआईसी एशिया लघुवित्तको ‘लक-इन’ अवधि असार १९ मा समाप्त, असार २० देखि संस्थापक सेयर कारोबार योग्य
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरमा लगाइएको ‘लक-इन’ अवधि आगामी असार १९ गते सकिने भएको छ। यसपछि, असार २० गतेबाट संस्थापक सेयरधनीहरूले होल्ड गरेको सेयर बजारमा बिक्रीका लागि योग्य हुनेछ।
संस्थाको सेयर २०७७ सालको असार २० गते बाँडफाँट गरिएको थियो, जसअनुसार ५ वर्षे ‘लक-इन’ अवधि यही वर्ष समाप्त हुँदैछ। हाल कम्पनीका १ करोड ४५ हजार कित्ता संस्थापक सेयरहरू लक-इनमा रहेका छन्।
आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक: अमेरिकी डलर १३६.९२ रुपैयाँ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो , आन्दोलन यथावत
काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो ।
गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।
एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
कास्की । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गर्ने र सो अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने प्रक्रिया स्थगन हुनेछ ।
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौ । गृहमन्त्री रमेश लेखकले सूचना सङ्कलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीबारे विस्तृत जानकारी लिनुहुँदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई दिर्नेशन दिनुभएको हो ।
सात बुँदे घोषणापत्र जारी गर्दै थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न
महेन्द्रनगर । जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
थारु अन्तरराष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलनमा महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा हाल थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सात बुँदे घोषणापत्रबारे जानकारी दिइएको थियो
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित, विपक्षको माग यथावत
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने माग यथावत राखेपछि बैठक बस्न नसकेको हो ।
गाजाको सहायता केन्द्र नजिकै भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
गाजा । इजरायली सेनाले मङ्गलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको उद्धार कर्ताहरुले जनाएका छन् ।
आक्रमणमा एकै ठाउँमा दर्जनौं मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् ।
घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं नागरिक विरुद्ध ट्याङ्क र ड्रोनले मार्फत आक्रमण गरेको बताउनु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताउनु भएको छ ।
युक्रेनी आक्रमण पछि रूसद्वारा जापोरिजियामा बिजुली कटौती
मास्को ।जापोरिजीया क्षेत्रको उत्तरपश्चिमी भागका बिद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरे पछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् ।
जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राम मार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले बिद्युत कटौती गरिएको जनाउनु भएको छ । उहाँले ऊर्जा मन्त्रालयलाई छिटै मर्मत गरी बिद्युत प्रवाह सुरु गर्न निर्देशन दिनु भएको छ ।
दुई दिन अघि युक्रेनले रूसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो ।
यातायात बन्दबीच नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्यो
काठमाडौं ।यातायात व्यवसायीहरूको बन्दको घोषणापछि सार्वजनिक यातायातका साधन ठप्प भएको अवस्थामा नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सवारी नचलेका कारण सडकमा अलपत्र परेका सर्वसाधारण यात्रुहरूको सहज आवागमनका लागि प्रहरीले देशका विभिन्न स्थानमा निःशुल्क बस सेवा उपलब्ध गराएको हो। प्रहरीले यो सेवा आवश्यक पर्ने स्थानहरूमा तत्काल उपलब्ध गराउने जनाएको छ।
सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ एकैदिन तोलामा २,९०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि, सोमबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो।सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँ पुगेको हो। सोमबार चाँदीको भाउ १ हजार ९९० रुपैयाँ थियो।
नेपाललाई विश्व बैंकबाट २५७ मिलियन डलर सहयोग, विद्युत् वितरण र सिँचाइ सेवामा लगानी
काठमाडौँ । विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर ९करिब ३५ अर्ब रुपैयाँ० बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो ।
यस सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम अनुसार, कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाललाई थप समृद्ध बनाउने लक्ष्य राखिएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै , यस्तो छ कार्यसूची
काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।
प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij