
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सधैं तयार रहन निर्देशन दिएका छन्। बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्रीले 'जुनसुकै बेला जेसुकै हुन सक्छू भन्ने मानसिकता अपनाउनुपर्ने बताएका हुन्।
उनले भने, 'हामी मनसुनको पूर्वसन्ध्यामा छौं, मनसुन सक्रिय भएपछि बाढी, पहिरोजस्ता प्राकृतिक विपद् आउन सक्छ। त्यसको पूर्वतयारीमा प्रहरी सतर्क रहनुपर्छ।' भूकम्प र आगलागीजस्ता आकस्मिक विपद्को पूर्वानुमान सम्भव नभएको भन्दै यस्ता घटनामा तत्काल सक्रिय हुनुपर्ने उनले जोड दिए।
गृहमन्त्री लेखकले नेपाल प्रहरीको जनस्तरसम्मको पहुँचलाई प्रभावकारी बनाएर जनताको विश्वास जित्नुपर्ने बताए। “विपद्को बेला नागरिकहरूले सबैभन्दा पहिले प्रहरी नै खोज्छन्,” उनले भने, “त्यसैले सेवा भावले जनताको भावना सम्बोधन गर्न जरुरी छ।”
उनले नेपाल प्रहरीको भूमिका कानुनले नै सुनिश्चित गरेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा प्रहरीको सक्रियता अनिवार्य रहेको धारणा राखे। साथै, यस वर्ष प्रहरीको तलब, पोशाक र महंगी भत्तामा कुनै समस्या नहुने स्पष्ट गर्दै संस्थागत क्षमता वृद्धि र मनोबल उच्च राख्न सरकारले प्रतिबद्धता जनाएको बताए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij