Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

भरतपुरमा २,३७३ मूल्य अभिवृद्धि करदाता निलम्बन, कारोबार रोक्का

भरतपुरमा २,३७३ मूल्य अभिवृद्धि करदाता निलम्बन, कारोबार रोक्का

  • भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका २,३७३ मूल्य अभिवृद्धि करदातालाई निलम्बन गरिएको छ। आन्तरिक राजस्व विभागले लगातार छ महिनासम्म कर विवरण नबुझाउने करदातामाथि कडा कारबाही गर्दै कारोबारसमेत रोक्का गरेको हो।

    कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार, यस कार्यालयमा २,४०० जना करदाताले विवरण नबुझाएकोमा, विभागले २०७८ वैशाख ११ गते सूचना प्रकाशित गरेपछि मात्र २७ जनाले विवरण बुझाएका थिए। बाँकी करदाताहरूलाई निलम्बन गर्दै, संस्थाको कारोबार स्थगन गरिएको र उपभोक्तालाई खरिद–बिक्री नगर्न आग्रह गरिएको छ।

    भरतपुरमा १० हजारभन्दा बढी मूल्य अभिवृद्धि करदाता छन् भने ७२ हजारभन्दा बढी करदाताहरू जम्मा रहेका छन्। पौडेलका अनुसार, “करदातामा कर बुझाउने ज्ञान भए पनि, बेवास्ता गर्ने प्रवृत्तिका कारण कारबाहीमा परेका हुन्। कतिपयले कारोबार नगरेका कारण पनि विवरण नबुझाएको हुन सक्छ, तर विवरण बुझाउनुपर्ने जिम्मेवारी भने ज्यूँकै रहन्छ।”

    विभागले मुलुकभरका ९५,३४९ करदाताको नाम सार्वजनिक गर्दै निलम्बन गरेको छ। यो कार्य मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७, उपदफा ८ बमोजिम गरिएको हो, जसअनुसार छ महिनासम्म कर विवरण नबुझाउने करदाताको दर्ता निलम्बन गर्न सकिन्छ।

    निलम्बनमा परेका करदाताले पछिल्ला सबै कर विवरणहरू पेस गरेपछि मात्र पुनः कारोबार सञ्चालन गर्न सक्नेछन्। विभागले कर सचेतनाको खाँचो औंल्याउँदै कारोबार नगरे पनि विवरण पेस अनिवार्य हुने कानुनी व्यवस्था बारे करदातालाई जानकारी गराउने अभियान आवश्यक रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij