
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २६ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सगरमाथा जलविद्युत्को १००% हकप्रद सेयर निष्कासनका लागि सेवोनमा आवेदन
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले शतप्रतिशत (१००%) हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ। कम्पनीले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको आधारमा सोही अनुपातमा हकप्रद सेयर निष्कासन गर्न जेठ २२ गते आवेदन दिएको हो।
यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
जोशी हाइड्रोपावरलाई ६५% हकप्रद सेयर बिक्रीको स्वीकृति, १७ महिनापछि बोर्डको अनुमति
काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले आवेदन दिएको १७ महिनापछि सेबोनले हकप्रद सेयर जारीको स्वीकृति दिएको हो।
कम्पनीले कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। यसअनुसार कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको पूँजी संकलन हुने कम्पनीको योजना छ।
सान्भि इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न : २ लाख ४१ हजार बढीले पाए १० कित्ता सेयर
काठमाडौं ।सान्भि इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सोमबार सम्पन्न भएको छ। गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार कुल २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए, जसमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन स्वीकृत भएको छ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो।
शेयर बजार : नेप्से परिसूचकमा २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा, ८ अर्ब ६८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २७.२९ अंकले बढेर २६५७.१९ बिन्दुमा आएको छ । आज ८ अर्ब ६८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज हाइड्रोपावर समूहमा बढी उत्साह देखिएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३ सय २४ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।
पिपुल्स पावर लिमिटेडले ५०% हकप्रद शेयर निष्कासनका लागि असार २ गते बुक क्लोज गर्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम ६३ करोड २६ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट जेठ २ गते आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ। यद्यपि, हकप्रद शेयर निष्कासनको मिति भने अझै तोकिएको छैन।
अकामा होटल लिमिटेडले असार १० गते विशेष साधारण सभा बोलाउने, आइपीओ प्रस्ताव पेश गरिने
काठमाडौं । अकामा होटल लिमिटेडले आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) प्रस्तावसहित असार १० गते विशेष साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धुम्बाराही काठमाडौंमा बिहान ११:३० बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।
सभामा प्रमुख एजेन्डाको रूपमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिनेछ। यससँगै, कम्पनीको जारी पुँजी बढाउने तथा प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरिनेछ।
दोर्दी खोला जलविद्युतको लिलामी सेयर बाँडफाँट सम्पन्न, न्यूनतम मूल्य १११ रुपैयाँदेखि २७० रुपैयाँसम्म
काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको जम्मा १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमार्फत जेठ ११ गतेदेखि २० गतेसम्म बिक्री खुला गरेको थियो।
यस अन्तर्गत, संस्थापक समूहतर्फका १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहतर्फ लक(इन अवधिमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता, र लक(इन अवधिमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता सेयर लिलामीमा राखिएको थियो।
हिमालयन हाइड्रोपावरको ‘लक इन’ अवधि असार २७ मा समाप्त, सेयरधनीलाई खुला कारोबारको अनुमति
काठमाडौं। हिमालयन हाइड्रोपावर लिमिटेडका संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक इन’ अवधि आगामी असार २७ गते समाप्त हुँदैछ। सो मितिपछि ती सेयरधनीहरूले आफ्नो होल्ड गरेको सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
कम्पनीले २०७७ साल असार २८ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो। नियमानुसार, उक्त मितिबाट ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयर लक इन अवधिमा राखिएको हो।
अपर सोलु हाइड्रोको ‘लक इन’ अवधि असार २९ मा सकिँदै, संस्थापक र स्थानीय सेयरधनीले पाउनेछन् कारोबारको अवसर
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक इन’ अवधि आगामी असार २९ गते सकिँदैछ। सो मितिपछि ती सेयरधनीहरूलाई आफ्ना सेयरहरू दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ।
कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय र कर्मचारीका सेयरहरू लक इनमा राख्नुपर्ने व्यवस्था अनुसार, हालसम्म कुल १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक सेयर, १३ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाको सेयर र ३९ हजार १५० कित्ता कर्मचारीको सेयर कारोबार गर्न रोकिएको थियो।
एसियन लाइफ इन्सुरेन्सको लाभांश घोषणा: ५.१०% बोनस सेयर र ०.२६% नगद
काठमाडौँ । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। आइतबार (जेठ २५ गते) बसेको सञ्चालक समिति बैठकले ५.१० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उक्त प्रस्ताव बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ।
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमानाकामा कडाइ
भद्रपुर । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ ।
सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको बैठक जेठ २८ गते बुधबार दिउँसो १ बजे बस्ने
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुुझाव दिनुुभएको हो । सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले उक्त स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद खुलाउन रास्वपाका यस्ता छन् पाँच बुँदे प्रस्ताव
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव अगाडि सारेको छ ।रास्वपाले संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव ५ बुँदे प्रस्ताव अगाडि सारेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक पटक संसद अवरुद्ध गर्दै आएका छन् ।
काठमाडौँ इन्द्रचोकको जनकपुर दही एण्ड लस्सी भण्डारको लस्सीमा ब्लेड भेटियो , महानगरले कारबाही गर्दै
काठमाडौँ । इन्द्रचोकको जनकपुर दही एण्ड लस्सी भण्डारबाट उत्पादित लस्सीमा ब्लेड भेटिएको छ ।इन्द्रचोकमा अवस्थित जनकपुर दही एण्ड लस्सी भण्डारमा लस्सी खानेहरूको भीडका बीच एक जना उपभोक्ताले लस्सी खाँदै गर्दा लस्सीमा ब्लेड भेटिएको हो ।
लस्सीमा ब्लेड भेटिएपछि केही बेर लस्सी भण्डारमा तनाव उत्पन्न भएको थियो । तनाव पछि प्रहरी र महानगरका प्रहरीहरूले उपभोक्ता र लस्सी भण्डार सञ्चालकलाई महानगरपालिकाले लगेको स्थानीयहरूले बताएका छन् ।
उक्त लस्सी भण्डारमा दैनिक झण्डै दुई लाख बढीको दही लस्सी बिक्री हुने गरेको बताइन्छ ।
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।
कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो ।
साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
भिजिट भिसामा गृहका सचिव दवाडीलाई स्पष्टीकरण सोधियो
काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीलाई स्पष्टीकरण सोधिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारीको सरुवाबारे स्पष्टीकरण मागेको हो।
यसैगरी सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्रचार गरिएको छ। जेठ २१ गते गृह मन्त्रालयमा पठाएको पत्रमा अध्यागमन कार्यालयमा जथाभाबी कर्मचारीको सरुवा किन गरिएको भनी जवाफ मागिएको छ । अध्यागमन कार्यालयमा गृहले दरबन्दीभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो।
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।
यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ ।
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न सरकारी अस्पताल÷प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले महङ्गो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नुपर्ने बाध्यता छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महङ्गोमा बिक्री गरिरहेको गुनासो मन्त्रालयमा आउने गरेको थियो ।
सर्वोच्चको अन्तरिम आदेशले १० वाणिज्य बैंकहरूको पूर्णलेखा परीक्षणमा झन् ढिलाइ हुने
काठमाडौँ । १० वाणिज्य बैंकहरूको पूर्णलेखा परीक्षणमा झन् ढिला हुने भएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा दिँदा राखेको सर्त अनुसार १० वाणिज्य बैंकको पूर्णलेखा परीक्षणमा झन् ढिला हुने देखिएको हो ।
नेपाल राष्ट्र बैंकले बंगलादेशी लेखा परीक्षण फर्मलाई छनोट गरी त्यस कार्यलाई अघि बढाइरहेको बेला सर्वोच्चबाट तत्काल रोक आदेश आएको छ ।छनोट गरिएको फर्मको विरोधमा एक प्रतिस्पर्धीले दायर गरेको मुद्दामा सर्वाेच्चले यस्तो आदेश दिएको हो ।केन्द्रीय बैंकले दोस्रो चरणमा बंगलादेशको हाउलादार युनुस एन्ड कम्पनी छनोट गरेर आगामी असारदेखि निरीक्षणमै जाने तयारी गरेको थियो । तर, दोस्रो चरणको छनोट प्रक्रियाबाट बाहिरिएको मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चरले आफू छनोट नभएपछि असन्तुष्टि राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्न पुग्यो ।
वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
वीरगञ्ज (पर्सा)।वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताउनुभयो ।
सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको भाउ सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रति तोला १०० रुपैयाँले घटेर १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला ५ रुपैयाँले बढेको छ। आइतबार २१ सय ४५ रुपैयाँमा रहेको चाँदीको भाउ आज २१ सय ५० रुपैयाँ पुगेको हो।
प्राधिकरणले ऊर्जा उत्पादक कम्पनीहरूलाई चार दिन भित्र विद्युत खरिद बिक्री सम्झौता गर्न बोलायो
काठमाडौँ । नेपाल विधुत प्राधिकरणले विभिन्न ५१ वटा कम्पनीलाई विद्युत् खरिदबिक्री सम्झौताको लागि ४ दिन भित्र सम्पर्कमा गर्न निर्देशन दिएको छ ।कार्यकारी निर्देशकद्वारा जेठ २ गते व्यवसाय विकास निर्देशनालयका उप–कार्यकारी निर्देशकको संयोजकत्वमा गठित कमिटीलाई काम गर्न आवश्यक पर्ने जनाउँदै प्राधिकरणले सूचना सार्वजनिक भएको चार दिन भित्र सम्झौता गर्न आउन भनेको हो ।
प्राधिकरणको जेठ २५ गतेको २१२३ चलानी नम्बर भएको विवरण उपलब्ध गराउने सम्बन्धमा विषय भएको पत्रमा भनिए अनुसार प्राधिकरण संचालक समितिको ९९४ औं बैठकको निर्णय अनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता गर्न विभिन्न विषयहरुमा अध्ययन गरि प्राथामिकता अनुसारको सूची तयार पार्न लागेको जनाइएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij