
मनाङ। हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ । यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख्रा, खसी र च्याङ्ग्रा २२, घोडा एक र गाई, गोरु छ गरी ८७ पशुचौपायको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ चितुवा, चितुवा र भालुलगायत जङ्गली जनावरको आक्रमणबाट यहाँका किसानले पशुधनमा क्षति व्यहोर्नुपरेको छ । गतवर्षको तुलनामा यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी बढी मरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा याकचौरी १७, बाख्रा, खसी र च्याङ्ग्रा ३७ र घोडा एक मरेका प्रमुख भुजेलले बताउनुभयो ।
आहारको अभावले वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मांसाहारी वन्यजन्तुको आहार वनजङ्गलमा पाउन मुस्किल भएपछि घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको हो ।” याकचौरी खुला आकाशमा पाल्ने प्रचलन छ । एकै किसानले धेरै सङ्ख्यामा याकचौरी पालन गर्छन् । जसले गर्दा जोगाउन मुस्किल हुने गरेको छ । उहाँले भन्नुभयो, “याकचौरीका बाच्छाबाच्छीको सुरक्षाका लागि अहिले भने तारबार लगाएर सुरक्षित बनाइन्छ । तर, ठूला भएका याकचौरी खुला चौरमा नै राख्ने गरिन्छ । जसले गर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको अध्ययनले देखाउँछ ।” साना चौरी भाग्न सक्दैनन् । जसले गर्दा बढी आक्रमणमा पर्ने गरेका छन् । तर, ठूला याकचौरी भाग्ने गर्दछन् र आक्रमणमा पर्दैनन् । विगतमा चरण क्षेत्र (खर्क) मावन बस्ती नजिकै हुने र अहिले तापक्रम वृद्धि हुँदै गएपछि खर्कमाथि सर्दै जाँदा वन्यजन्तुको आक्रमण बढ्दै गएको प्रमुख भुजेलको अनुमान छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रको खर्कमा परेको छ । यसको प्रभावले तापक्रम वृद्धि भई खर्क माथि सर्दै गएको छ । खर्क माथि सरेर पशुको चरण क्षेत्र वनजङ्गलको नजिक हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने सम्भाव्यता बढेको छ ।” पानीको मुहान भएका क्षेत्रमा घाँसे मैदान (खर्क) हुने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम कम हुने गरेकामा अहिले परिवर्तन भएको पाइन्छ । पशुपालक किसान एवं याकचौरी कृषक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थाकालीले भन्नुभयो, “विगतमा वन्यजन्तुको आक्रमण हुन्थ्यो । तर, कम हुने गर्दथ्यो । अहिले बढ्दै गएको छ ।” पहिला पशु मरे भने क्षतिपूर्ति पाउने प्रावधान थिएन ।
जसले किसान मर्कामा पर्ने गरेका उहाँले बताउनुभयो । पशुधनमा क्षति भए सरकारले किसानलाई प्रोत्साहन र सहयोग पु¥याउने उद्देश्यले क्षतिपूर्तिको व्यावस्था गरेको छ । जसले पशुपालक किसानलाई राहत महसुस भएको अध्यक्ष थकालीको भनाइ छ । पानीका मुहान सुक्ने र समयमा हिमपात नहुँदा तल्लो क्षेत्रमा घाँसेमैदान हराउँदै गएकाले जङ्गल क्षेत्रमै चरण क्षेत्र बन्ने गरेको छ । जसले गर्दा वन्यजन्तुको आक्रमण बढ्दै गएको आँकलन गर्न सकिने एक्यापले जनाएको छ । पानीको अभावले घाँसेमैदानको ठाउँ नै फेरिदा यहाँका पशुपालक किसानलाई समस्या हुनुका साथै जोखिममा पर्ने गरेका छन् । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij