Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरु गर्‍यो

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरु गर्‍यो

  • काठमाडौं ।नेपालले शनिबारदेखि बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात गर्न सुरु गरेको छ। स्वदेशमा विद्युत् माग पूरा गरेपछि बाँकी विद्युत् तेस्रो देश बंगलादेशमा पठाउन थालिएको हो।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले यो कदमले नेपालको समृद्धि दिशामा ठूलो प्रगति गरेको बताए। उनले नेपाल दक्षिण एसियामा तेस्रो मुलुकलाई विद्युत् निर्यात गर्ने पहिलो देश बनेकोमा गर्व व्यक्त गरे।

    यस अघि, नेपाल, भारत र बंगलादेशबीच २०८१ साल असोज १७ गते विद्युत् बिक्री गर्ने सम्झौता भएको थियो। ऊर्जा मन्त्री दीपक खड्का, भारतका ऊर्जा मन्त्री मनोहरलाल र बंगलादेशका ऊर्जा सल्लाहकार मोहम्मद फोजुल कविर खानले संयुक्त रूपमा काठमाडौंमा विद्युत् निर्यातको औपचारिक उद्घाटन गरेका थिए। सम्झौताअनुसार हरेक वर्षको जून १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि ४० मेगावाट विद्युत् निर्यात गर्ने व्यवस्था छ।

    नेपाल र भारतको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी हुँदै विद्युत् निर्यात गरिनेछ। भारतको प्रसारण संरचनाबाट बंगलादेश पुग्ने विद्युत् बेहरामपुर–भेडामारा ४०० केभी लाइनमार्फत सप्लाई हुनेछ।

    विद्युत् प्राधिकरणका अनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट उत्पादन गरी कुल ४० मेगावाट विद्युत् निर्यात गरिनेछ। यो निर्यात सन् २०२९ को अक्टोबर २ सम्म पाँच वर्षसम्म चल्नेछ।

    प्राधिकरणले प्रति युनिट ६.४० अमेरिकी सेन्टमा विद्युत् बंगलादेशलाई बिक्री गर्ने सम्झौता गरेको छ। साथै, प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन र भारतले लिने ट्रेडिङ मार्जिनसमेत बंगलादेशले व्यहोर्नेछ। विद्युत् बिक्रीबाट उत्पन्न रकमको भुक्तानी पनि बंगलादेशको पावर डेभलपमेन्ट बोर्डमार्फत गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij