
पर्सा । वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको ठूलो रकम अपचलन गरेको आरोपमा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधसम्बन्धी पूरक मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ रकम अपचलन गरेको पत्ता लगाउँदै शुक्रबार मुद्दा दर्ता गरेको हो। अभियोगपत्र अनुसार पूर्व गृहमन्त्री रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरिएको छ।
सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत दर्ता भएको यस अभियोगपत्रमा लामिछानेसहित अन्य आरोपीहरूमाथि कडा कारबाही माग गरिएको छ। सहकारी ऐनअनुसार ठूलो रकम अपचलन भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद र संगठित अपराध ऐनअनुसार थप सजायको प्रस्ताव गरिएको छ।
यसैगरी, यस मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई ७ करोड २० लाख रुपैयाँ बिगोबमोजिम सजाय र जरिवाना, साथै संगठित अपराध ऐनअनुसार थप सजाय माग गरिएको छ। अनुसन्धानमा सानो पाइला सहकारीबाट गोर्खा मिडिया र नेचर हर्ब्स इन्डस्ट्रिजमा करोडौं रकम स्थानान्तरण भएको पाइएको छ।
सानो पाइला सहकारीले करिब ५ हजार ८ सय बचतकर्ताबाट जम्मा भएको २ अर्ब ३० करोड भन्दा बढी रकम अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ। उक्त रकमका सम्बन्धमा विगतमा समेत धेरै पटक उजुरी दर्ता भइसकेको थियो।
प्रहरी र सरकारी वकिल कार्यालयको संयुक्त अनुसन्धानले सहकारीको लेखा परीक्षण, भौचर, रेकर्ड तथा सफ्टवेयरको सूक्ष्म अध्ययन गरी अपराध पुष्टि गरेको थियो।
यो मुद्दामा अहिले थुनामा रहेका विभिन्न अधिकारी, सञ्चालक र सहकारीका पदाधिकारीहरूलाई पनि समावेश गरिएको छ। विगतमा उनीहरू सहकारीका जिम्मेवार पदमा रहेका थिए र ठगीको योजनामा सक्रिय रहेको ठहर गरिएको छ।
पर्सा प्रहरीले शुरुमा सहकारी रकम अपचलनको अनुसन्धान मात्रै गरेको थियो, तर संसदीय छानबिनपछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अनुसन्धानमा समेटिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij