
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि मन्त्रालय सधैं तयार रहेको बताए।
"अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन, यो गम्भीर प्रश्न हो," मन्त्री पौडेलले भने। उनले अस्पतालको सेवा सुधार र नागरिकले प्रत्यक्ष अनुभूति गर्नसक्ने परिवर्तन ल्याउने आफ्नो चाहना रहेको उल्लेख गर्दै यसका लागि समर्पित भएर काम गरिरहेको स्पष्ट पारे।
मन्त्री पौडेलले केवल पूर्वाधार र जनशक्ति थपेर मात्र सुधार सम्भव नहुने भन्दै आवश्यक नीतिगत सुधारको लागि आफू तयार रहेको बताए। उनले कर्मचारीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, "कार्यसम्पादनमार्फत पुँजीगत खर्च बढाउनु आजको आवश्यकता हो," भने।
सरकारी अस्पतालप्रतिको जनविश्वास कायम राख्न सुधारको खाँचो रहेको उल्लेख गर्दै मन्त्री पौडेलले बजेट व्यवस्थापनमा आफूले विशेष प्रयास गरिरहेको बताए। तर त्यो बजेट खर्च गर्न सबै कर्मचारी गम्भीर हुनुपर्नेमा जोड दिए।
स्वास्थ्य बीमाको विषयमा बोल्दै उनले सरकारी कर्मचारी र संगठित क्षेत्रलाई बीमामा समावेश गराउने नीति ल्याइसकेको जानकारी गराए। “स्रोतको अभाव भइरहेको अवस्थामा सबै कर्मचारी र संगठित क्षेत्र समेट्न सके ४० अर्ब रुपैयाँसम्म जुट्न सक्छ,” भन्दै उनले बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij