Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

नेपालका लागि ११ महिनामा ६० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

नेपालका लागि ११ महिनामा ६० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

  • काठमाडौँ । नेपालका लागि ११ महिनामा ६० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता भएका छन् ।  चालु आर्थिक वर्ष २०८१्८२ को ११ महिनामा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको हो ।उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । जेठसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड गरी कुल ६० अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको जनाइएको छ ।विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ११ महिनामा ३४७ उद्योगका लागि ५६ अर्ब ७४ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ३७० उद्योगका लागि ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

    कुल लगानीको ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख रुपैयाँ सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ ।यस्तै पर्यटन क्षेत्रमा ४० प्रतिशत अर्थात् २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावार क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपैयाँ , उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमा एक अर्ब ९७ करोड ३९ लाख, ऊर्जा क्षेत्रमा दुई करोड ५५ लाख र पूर्वाधारमूलक क्षेत्रमा पाँच करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै ७०२ साना उद्योग, नौ मझौला र छ वटा ठुला उद्योग रहेका छन् । नीतिगत सुधारसँगै लगानी प्रतिबद्धतामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सुरुदेखि हालसम्म सात हजार ११६ उद्योगमा पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको जनाइएको छ ।

    विभागका अनुसार चालु आर्थिक वर्षको जेठमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । १४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।यसैबीच नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा साढे १० अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । साउनदेखि वैशाखसम्म १० अर्ब ६० करोड वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा सात अर्ब पाँच करोड रुपियाँ लगानी भित्रिएको थियो ।

    गत आवको तुलनामा तीन अर्ब ५५ करोड रुपियाँ बढी भित्रिएको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारले लगानी प्रतिबद्धता रकमसँगै नेपालमा भित्रिने रकमसमेत बढेको तथ्याङ्कले देखाएको छ । यस्तै १० महिनामा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पाँच अर्ब २६ करोड खुद पुँजीगत ट्रान्सफर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij