
काठमाडौँ । दैलेखको जलजलेमा नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ ।प्रारम्भिक अध्ययनबाट ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको उत्खनन् अध्ययनमा संलग्न चिनियाँ विज्ञहरूले बताएका हुन् ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि जमिन खनेर गरिने अध्ययन ड्रिलिङ गर्न सुरु गरेको थियो । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनियो ।
त्यतिबेला जमिन मुनिबाट ग्यासको गन्ध आए पनि ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षण गर्नु आवश्यक थियो । त्यसैले त्यहाँको चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो । त्यसको प्रारम्भिक अध्ययनले नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यास रहेको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जनाए अनुसार अहिले प्रारम्भिक रुपमा रिपोर्ट प्राप्त भएको छ । त्यसमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास छ ।यसको पुष्टि भएको छ । यो मिथेन ग्यास हो ।
मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । मिथेन ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिन्छ । खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले जनाए अनुसार मिथेन ग्यासबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्यास निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ ।
दैलेखका विभिन्न स्थानहरुमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । तर विज्ञहरुले जमिन मुनि प्रज्ज्वलनशील ग्यास भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij