
क्यानबेरा। सन् २०२४ मा अस्ट्रेलियामा शुद्ध आप्रवासन ३० प्रतिशतले घटेसँगै देशको जनसंख्या वृद्धिदर तीन वर्षकै न्यूनतम स्तरमा पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार, अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या सन् २०२४ मा ४४५,९०० जनाले बढेर दुई करोड ७४ लाख पुगेको छ, जुन १.७ प्रतिशत वृद्धिदर हो।
यो वृद्धिदर सन् २०२३ को तुलनामा कम हो, जब जनसंख्या २.४ प्रतिशतले बढेको थियो। एबिएसका अनुसार सन् २०२४ मा जनसंख्या वृद्धिमा आएको गिरावट मुख्यतया शुद्ध आप्रवासीहरुको संख्या घटेको कारण हो।
सन् २०२४ मा अस्ट्रेलिया आएका विदेशी नागरिकको संख्या पाँच लाख ९४ हजार ९ सय थियो भने त्यहाँबाट प्रस्थान गर्नेको संख्या दुई लाख ५४ हजार २ थियो, जसले कुल शुद्ध आप्रवासन ३४०,७५० पुर्यायो। यो संख्या सन् २०२३ को तुलनामा करिब ३५.७ प्रतिशतले कम हो।
प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको लेबर पार्टीले २०२४–२५ आर्थिक वर्षको लागि नेट माइग्रेसन इन्टेकलाई २६०,००० मा घटाउने लक्ष्य राखेको छ।
एबिएसका तथ्यांक अनुसार सन् २०२४ मा अस्ट्रेलियामा प्राकृतिक जनसंख्या वृद्धि पनि कम भएको छ, जसमा करिब २९२,४०० जना जन्मेका र १८७,३०० जनाको मृत्यु भएको देखिन्छ।
यो तथ्यांकले अस्ट्रेलियाको जनसंख्या वृद्धिमा हालका वर्षहरुमा आएको गिरावटलाई स्पष्ट रूपमा देखाउँछ र आगामी वर्षमा आप्रवासन नीति तथा जनसंख्या व्यवस्थापनमा थप प्रभाव पार्ने अनुमान गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij