Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नागार्जुनका मेयर मोहनबहादुर बस्नेत घुसकाण्डमा दोषी ठहर, १६ असारमा सजाय तोकिने

नागार्जुनका मेयर मोहनबहादुर बस्नेत घुसकाण्डमा दोषी ठहर, १६ असारमा सजाय तोकिने

  • काठमाडौँ।विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै उनीमाथि सम्पत्ति शुद्धिकरण (अपराधबाट सम्पत्ति आर्जन) को मुद्दामा समेत दोष देखाएको छ।

    बस्नेतले जग्गा प्लटिङ सम्बन्धी नीतिगत निर्णयमार्फत निजी कम्पनीलाई लाभ पु¥याएको र त्यसवापत घुस लिएको प्रमाणित भएको विशेष अदालतको ठहर छ। उनीसँगै पद्मा कोलोनी प्रा.लि.का सञ्चालक राजु कँडेल पनि घुस दिएको अभियोगमा दोषी ठहर भएका छन्। यद्यपि सम्पत्ति शुद्धिकरणको आरोपमा कँडेलले सफाइ पाएका छन्।

    अख्तियारको अनुसन्धानअनुसार, बस्नेतले जगतगुरु कृपालुजी महाराजको नाममा बन्ने प्रतिष्ठानका लागि नगरपालिकाबाट ७ अर्ब ४८ करोडको जग्गा सम्झौता गराई, सोही क्रममा जग्गाको मूल्य कृत्रिम रूपमा बढाएर लाभ लिएका थिए।
    अख्तियारको दाबीमा, ४७ करोड ७५ लाख मूल्य बराबरको जग्गा १९ लाख रुपैयाँमा किनिएको, बैंक खाताबाट २ करोड १५ लाख, जग्गा खरिदमा ६ करोड ८२ लाख, र छोराको बिहेका लागि २४ लाख ७२ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

    बस्नेतले कुल १३ करोड १२ लाख रुपैयाँ अपराधबाट कमाएको अदालतको ठहर छ। विशेष अदालतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी दुवैलाई बिगो तिर्नुपर्ने निर्णय समेत गरेको छ।

    तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा दोषी ठहर भएपछि विशेष अदालतले १६ असारमा सजाय निर्धारणका लागि अर्को सुनुवाइ तोकेको छ।

    नेपालको भ्रष्टाचार निवारण ऐनअनुसार, १ देखि १० करोड रुपैयाँ घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्मको कैद सजाय हुने प्रावधान छ। अदालतले सम्पूर्ण विवरणलाई भ्रष्टाचारजन्य कार्य ठहर गर्दै दोषसिद्धि गरेको हो।

    मेयर बस्नेतकी पत्नी उर्मिला बस्नेतले भने घुस र सम्पत्ति शुद्धिकरण दुवै मुद्दामा सफाइ पाएकी छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij