Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

युद्धका कारण  बढ्दो डलरको भाउले नेपाली अर्थतन्त्रमा बढाएको चिन्ता

युद्धका कारण  बढ्दो डलरको भाउले नेपाली अर्थतन्त्रमा बढाएको चिन्ता

  • काठमाडौँ । अमेरिकी डलरको भाउमा वृद्धि हुँदा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । इजरायल र इरान युद्धका कारण  डलरको भाउमा वृद्धि हुन पुगेको हो ।गत माघमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको थियो । त्यतिखेर १ अमेरिकी डलरको भाउ  १४१ नेपाली रुपैयाँ नजिक पुगेको थियो । त्यसपछि घटेर गत जेठसम्म १३६ रुपैयाँ तलमाथि रहेको डलरको मूल्य मध्यपूर्वमा सुरु भएको युद्धले फेरि उकालो लाग्न थालेको देखिएको हो ।

    अमेरिकी डलरको मूल्य बढ्दा भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो ।गत १३ जुनमा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणलगत्तै इरानले पनि प्रत्याक्रमणमा उत्रियो । अहिले आएर अमेरिकाले इरानमाथि आक्रमण गरे युद्ध झन् चर्किने सम्भावना बढाएको छ ।  चर्किँदो युद्धले डलरको भाउलाई उचाइमा झन्  पु¥याउने आशंका बढाएको छ । 

    राष्ट्र बैंकका अनुसार गत शुक्रबार अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा थियो भने आइतबार खरिद दर १३८ रुपैयाँ २४ पैसा र बिक्री दर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । गत बिहीबार अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा थियो ।यता, राष्ट्र बैंकले आइतबार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    डलर महँगिदा नेपाललाई आयात गर्दा बढी डलर तिर्नुपर्ने हुन्छ । यसले डलरको निकासी धेरै गर्नुपर्ने हुन्छ ।नेपालको निर्यातभन्दा आयात कैयौँ गुणाले बढी भएकोले डलर महँगो भएपछि अमेरिकी वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ ।
    चालु आवको वैशाखसम्मको तथ्यांक हेर्दा नेपालले २२ अर्ब ३१ करोड ४४ लाख ६ हजार रुपैयाँको वस्तु अमेरिकाबाट आयात गर्दा १४ अर्ब ४३ करोड २४ लाख ८८ हजार रुपैयाँको मात्रै अमेरिका निर्यात गरेको छ ।सो अवधिमा नेपालले अमेरिकासँगको व्यापारमा ७ अर्ब ८८ करोड १० लाख १८ हजार रुपैयाँ घाटा बेहोरेको देखिन्छ । डलरको भाउ आकासिँदा नेपालले झन् व्यापार घाटा बेहोर्ने देखिएन्छ ।

    यता डलरको मूल्य बढिरहेका बेला नेपालले निर्यात बढाउन सके यसबाट बढी लाभ लिन सकिने जानकारहरू बताउँछन् । नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ, त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदाभन्दा बेफाइदा नै बढी हुन्छ । अर्कोकुरा निर्यात बढाइहाल्ने कुरो भन्दैमा हुने होइन् ।डलरको भाउ बढ्दा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भए पनि त्योभन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ ।

    अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुन सक्छ ।आगामी आर्थिक वर्षमा सरकारले ३ खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । तर, डलरको मूल्य वृद्धि हुँदा यो रकम कम पर्न जान्छ र लक्ष्य भेटाउन मुस्किल पर्ने विज्ञहरू बताउँछन् ।नेपाल उपभोग्य वस्तुदेखि विलासी सामग्रीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुने अर्थविद्हरूको बुझाइ छ ।
    नेपालले ठुलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवा महँगो पर्नेछ । महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य वृद्धिमा यसको चाप बढने देखिन्छ ।

    नेपालको ६० प्रतिशतभन्दा बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्न सक्ने हुन सक्छ । बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप मारमा पर्ने विज्ञहरूको आशंका छ  ।कतिपय विज्ञहरूका अनुसार डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ, त्योभन्दा बढी नोक्सान छ ।

    भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडालगायत सामान महँगो पर्नेछ । चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुनेछ । उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोग्य वस्तुको मूल्यमा देखिने छ । विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरूलाई पनि डलर वृद्धिले समस्या पार्छ । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्ने देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij