Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ९ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ९ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार ९ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    शेयर बजार  : नेप्से परिसूचकमा ८.१३ अंकले बढेर २६०४.११  बिन्दुमा, ६ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ८.१३ अंकले बढेर २६०४.११  बिन्दुमा आएको छ । आज  ६ अर्ब ४७  करोड बढीको सेयर कारोबार भएको छ ।

     

    दुई वटा कम्पनी सकारात्मक सर्किट लेबलमा र एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।यस दिन ३ सय २५ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र ङादी ग्रुप पावर परेका छन् ।

    द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री

    काठमाडौँ ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभएको छ ।

     

     

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी गरी हाल इजरायल तथा इरानमा रहनुभएका नेपालीलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिएको छ ।”

    युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री

    लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुुस्त हुने बताउनुभएको छ ।

     

     

    राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

    सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल

    काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ । 

     

     

    मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारी साधनमा रोक लगाउन पहल गरिने बताउनुभयो ।

    बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

    लुम्बिनी ।बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

     

    नगरसभाको सत्रौँ अधिवेशनअन्तर्गत आज बसेको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने बताउनुभयो । बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा रु ९५ करोड आय हुने अनुमान पेस गरेको छ ।

    १२ करोड इकाईसहित रिलायबल समृद्धि योजना नेप्सेमा सूचीकृत, असार १० देखि कारोबार सुरु

    काठमाडौं । रिलायबल समृद्धि योजना अन्तर्गत १२ करोड इकाई शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। कोष व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड र नेप्सेबीच सोमबार इकाई सूचीकरणसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो। यससँगै आगामी मंगलबार, अर्थात असार १० गतेदेखि, रिलायबल समृद्धि योजनाका इकाइहरूको नियमित कारोबार नेप्सेमा सुरु हुने भएको छ। यस योजनाले लगानीकर्तालाई थप वैकल्पिक लगानी अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    बजेट माग्‍ने र दिने होइन कि योजना बनाउने परिपाटी रोज्नुपर्ने पर्यटन मन्त्री पाण्डेको भनाइ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले बजेट, माग्‍ने र दिने नभई सबै सहभागितामा योजना बनाउने परिपाटी रोज्‍नुपर्ने बताएका छन् ।प्रतिनिसभामा सोमबार पर्यटन मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्‍नहरुको जवाफ र स्पष्टिकरण दिने क्रममा मन्त्री पाण्डेले यस्तो भनेका हुन् ।

     

    उनका अनुसार   अहिले निकै सकसपूर्ण रुपमा बजेट बनाइएको छ ।   कोहीले बजेट माग्‍ने र कसैले दिनजस्तो प्रवृत्ति देखिएको  छ। यो प्रवृत्ति अन्त्य गर्दै योजना निर्माणमा सबै क्षेत्र र समुदायको सहभागिता र प्राथमिकीकरण गर्दै बजेट विनियोजन गर्ने पटीपाटी रोज्‍नुपर्ने छ ।

    होटलसंघद्वारा घोषित कार्यक्रमहरूलाई सफल बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह

    काठमाडौँ । होटल संघ नेपालको एक प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर बजेटमा घोषित कार्यक्रमहरूलाई सफल पार्न मौद्रिक नीति सो अनुकूल ल्याउन आग्रह गरेको छ ।भेटमा बधाई ज्ञापन गर्दै संघका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले  नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि बजेटबाट घोषित कार्यक्रमहरुको सफल एवं प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा उपयुक्त नीति अवलम्बन  गर्न आग्रह गरेको हो ।

    राष्ट्रियसभा : इरान–इजरायल युद्धबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारी माग

    काठमाडौँ ।मध्यपूर्वी मुलुकहरू इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदहरूले माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्नेक्रममा अधिकांश सांसदहरूले ती मुलुकमा रहेका नेपालीको अवस्था बुझ्न कूटनीतिक प्रयास थालिनुपर्ने तथा नेपालले युद्ध अन्त्य र शान्तिको पक्षमा विश्व समुदायलाई आग्रह गर्न सक्नुपर्ने धारणा राख्नुभएको हो ।

    अर्थ समितिको बैठकमा सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

    काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यकपर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिनुभयो । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले सुन र गहनामा विभिन्न नाममा ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्थाले नेपाली व्यवसाय धरासायी हुने बताउनुभयो । उहाँले अहिलेकै घोषणा कायम रहेमा नेपालमा सुन महँगो भई उपभोक्ता मारमा पर्नुका साथै हजारौँ मजदुरको रोजगारी गुम्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । खुला सिमाना भएका कारण भारतीय बजारमा पुगेर सहज सुन किन्न वातावरणले राज्यको ठूलो परिमाणमा राजस्व गुम्न सक्ने पक्षमासमेत सजग रहन जरूरी रहेको व्यवसायीको भनाइ थियो । चालु आर्थिक वर्षमा करिब १० लाखसम्म सुन खरिदमा अतिरिक्त कर लाग्ने व्यवस्था रहेकामा यस पटकको बजेटमा शून्यबाटै कर लाग्ने प्रावधान रहने प्रस्ताव गरेको छ ।

    उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

     

     

    भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    अत्याधिक आयात र बिक्री हुने टीबीएल( TBL)लगायतका ब्राण्डेड जुत्तालाई ब्राण्डमा नराख्दा अर्बौँ भन्सार/राजस्व गुम्दै

    काठमाडौँ । जुत्ता /चप्पल आयात तथा बिक्री वितरणमा राज्यले अर्बौँ राजस्व गुमाइरहेको छ । नेपालमा अत्याधिक बिक्री हुने र चीनलगायत अन्य देशमा समेत ब्राण्डको रूपमा चर्चित ब्राण्डेड जुत्ताहरू आयात गर्दा  भन्सार विभागले ब्राण्डको रूपमा नराख्दा त्यस्ता जुत्ता /चप्पलबाट अर्बौँ भन्सार/राजस्व गुमाउँदै आएको हो । 

     

    पछिल्लो समय नेपालमा  अत्याधिक बिक्री हुने टीबीएल( TBL) ब्राण्डका स्पोर्ट्स शूज, एयरकन शूज, डियर वेयर लगायतका ब्राण्डेड जुत्ताहरूलाई भन्सार विभागले ब्राण्डेडमा नराख्दा त्यस्ता जुत्ताहरूको आयात ह्वात्तै बढेको छ ।

    इरानलाई मुख्य व्यापारिक मार्ग बन्द गर्नबाट रोक्न अमेरिकाको चीनलाई आग्रह

    वासिङ्टन ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गर्नुभएको छ । 

     

    तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्त्वपूर्ण छ किनकी इराक, कतार तथा ईरान जस्ता देशहरूको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। 

    रुबियोले फक्स न्यूजसँग भन्नुभएको छ, “म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खासगरी, इराक कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुनेगर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।”

    इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

    जेरुसेलम ।इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ ।  मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिन देखि लडाइँ जारी छ ।

     

    सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानहरूले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।  

    यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो ।

    आईपीओ निष्कासनको तयारीमा ठमेल प्लाजा होटल, विशेष साधारण सभा असार २४ मा

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्सले सर्वसाधारणलाई लक्षित गरी आईपीओ निष्कासनको तयारीस्वरूप आगामी असार २४ गते विशेष साधारण सभा आह्वान गरेको छ। सभा कम्पनीको कार्यालय, ठमेल काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने तय भएको छ।

    आईपीओ प्रक्रिया अघि बढाउन कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ। प्रस्तावित योजनाअनुसार, कम्पनीले १० लाख कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गर्ने तयारी गरेको छ। यस सम्बन्धी प्रस्ताव पारित गरी आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सभाबाट हुने अपेक्षा गरिएको छ।

    इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

    काठमाडौं। नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ।

    सोमबार सुनको भाउ प्रतितोला  एक लाख ९० हजार ६ सय रुपैयाँ कायम

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला  एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। 
     
    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ।

    फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। इच्छुक व्यक्ति वा संघसंस्थाले सो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यद्यपि, सेयरको मूल्य भने तोकिएको छैन।

     

    सेयर खरिदमा रुचि राख्ने संस्थापकहरूले असार ९ गते बिहीबारदेखि ७ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा निवेदन दिनु पर्नेछ।

    ४४ हजार अनएसेम्बल्ड मोटरसाइकल भित्रिए, राजस्व संकलन पाँच अर्ब नाघ्यो

    वीरगञ्ज  । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।

    दरमखोला हाइड्रोले आयोजना प्रभावित स्थानीयलाई सेयर बिक्री खुला गर्‍यो

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (IPO) निष्कासन गरेको छ। कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीमध्ये ३८.३३ प्रतिशत, अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

     

    यसअन्तर्गत, कम्पनीले कुल १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजनास्थल आसपासका स्थानीयहरू—गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बडीगाउँ गाउँपालिकाका बासिन्दाका लागि सार्वजनिक बिक्रीमा ल्याएको हो।

    एसियन लाइफ इन्सुरेन्सको साधारण सभा असार ३० गते, ५.१०% बोनस सेयर प्रस्ताव

    काठमाडौं ।एसियन लाइफ इन्सुरेन्सले आगामी असार ३० गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बारास्थित होटल ईच्छा समिरमा दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ। सभामा कम्पनीले ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

    युनाइटेड अजोड इन्सुरेन्सको वार्षिक सभा असार ३० गते, ५१०% बोनस सेयर प्रस्ताव

    काठमाडौं।युनाइटेड अजोड इन्सुरेन्सले आफ्नो वार्षिक साधारण सभा आगामी असार ३० गतेका लागि निर्धारण गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०:३० बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ।

     

    त्यसैगरी, कम्पनीले ५१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभाको कार्यसूचीमा रहेको छ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई  Women's Tabloid "The Voice of the Women"  ले "Best Woman CEO in Strategic Leadership-General Insurance  २०२५” द्वारा सम्मान गरिएको हो ।

     
     उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।” उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् ।

    मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

    भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१।५६ प्रतिशत हो । 

     

    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१र८२ को जेठसम्ममा रु १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०र८१ को सोही अवधिमा रु १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकामा ७७।५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो ।

    देशभर मनसुनी वायुको प्रभाव :कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  

     

    मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।

     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij