
काठमाडौंँ । आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले दैनिकरूपमा तोक्दै आएका सुनचाँदीको बजार भाउ तोक्ने छोडेका छन् ।सरकारले लगाएको करको विरोधमा व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा उत्रिएपछि यस्तो निर्णय गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको बजार भाउ तोक्न बन्द गरेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटिरहेका बेला नेपाली बजारमा भने कारोबार मूल्य नै निर्धारण रोकिएको हो।
महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको छ। गत शुक्रबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ४ सय रुपैयाँ भएको थियो। १० रुपैयाँ घटेर चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँ भएको थियो।अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रति औंस ३२७४.२३ डलर छ। चाँदी प्रतिऔंस ३६ डलर छ।
सरकारले सुनमा लगाएको विलासिता कर र हिरा तथा रत्नमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि व्यवसायीहरुले पसल बन्द गरी आन्दोलन गरिरहेका छन्। देशभरकै पसल बन्द भएपछि सुनचाँदीको कारोबार मूल्य निर्धारण नगर्ने निर्णय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले बताएका छन् ।उनीहरूका अनुसार सुनको नयाँ मूल्य निर्धारण नगर्ने निर्णय भएको छ। बजार कारोबार ठप्प छ। कारोबार बन्द भए पनि सुनको मूल्य तोक्नका लागि विकल्पमाथि लागि छलफल भइरहेको छ ।
आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने हिरा र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। सुन आयातकर्ता वाणिज्य बैंकहरुबाट थोक तथा ठुला व्यवसायीले खरिद गर्छन् । उनीहरुबाट खुद्रा व्यवसायीले सुन उठाउँछन्। उक्त सुन ग्राहक कारोबारसम्म आइपुग्दा प्रत्येकपल्ट विलासिता कर जोड्दा सर्वसाधारणलाई अत्यधिक भार पर्ने भएकाले व्यवसायीले खारेजीको माग गरिरहेका हुन्।विरोध प्रदर्शन, ज्ञापनपत्र हस्तान्तरण र प्रधानमन्त्रीसम्मलाई भेटेर आफ्ना माग सुनाउँदा पनि सरकारले सुनुवाइ नगरेको भन्दै व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij